काठमाडौं– पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले गरेको फोहोर नागरिक समाजले सफा गर्नुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेकपाको दाहाल–नेपाल समूहले आज बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दलका नेताहरुलाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरु फोहोर गर्ने अनि नागरिक समाजलाई सफा गर्न बोलाउने ? तपाईंहरुको पनि कमजोरी छ नि अहिलेको अवस्था आउन। प्रधानमन्त्रीले संसद् विघटन गर्दैछन् भन्ने जान्दाजान्दै तपाईंहरु मदहोस भएर बस्नुभयो। तपाईंहरुले नै होइन पार्टी एकता गरेको ? तपाईंंहरुलाई सत्तामा लैजान हामी किन आन्दोलनमा आउने ?’
हिजो नागरिक समाजलाई राजनीतिक दलहरुले भुलेको गुनासो उनले गरे। ‘हिजो तपाईंहरुले भुल्नुभयो हामीलाई। अहिले फेरि खोज्नुभयो। संसद् पुनर्स्थापना होला। प्रधानमन्त्री, मन्त्री पद तपाईंहरुले लिनुहोला। अहिले ओलीले गरेको जस्तै फोहोर तपाईंहरुले पनि गर्नुहोला। त्यसको ग्यारेन्टी के छ ? अहिलेको परिस्थिति आउनुमा ओलीमात्रै जिम्मेवार छैनन्, तपाईंहरु पनि हुनुहुन्छ,’ ढुंगानाले भने।
अहिलेको विवाद बहालवाला प्रधानमन्त्री र तीनजना सत्तामा नभएका पूर्व प्रधानमन्त्रीबीचको कुस्तीमात्रै भएको उनको भनाइ थियो।
ओलीले सार्वजनिक रूपमा जनताको थलोमाथि प्रहार गरेको भन्दै उनले विगतको अवस्था देखेर नै २०७२ को संविधानमा संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको बताए। उनले भने, ‘संसद् पुनर्स्थापना भए पनि घायल अवस्थाको रहन्छ।’