शुक्रबार, मंसिर १६, २०७९

शासन गर्न असफल कम्युनिस्टमाथि कांग्रेसले वैचारिक हमला गर्नुपर्छ (अन्तर्वार्ता)

गुरुराज घिमिरे, केन्द्रीय सदस्य (नेपाली कांग्रेस)  
नेपाल समय  |  काठमाडौं, सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७, काठमाडौं

नेपाल समय

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। प्रतिनिधिसभा विघटनका विषयमा नेपाली कांग्रेसभित्र एकमत छैन। पुनर्स्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरू विभाजित छन्। विघटनविरुद्ध कांग्रेसले एकताबद्ध भएर पुनर्स्थापनाको माग गर्न सकेको छैन।

प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि चरणबद्ध आन्दोलन गरेको कांग्रेसले आन्दोलनको बाटोसमेत छाडेको छ। अदालतको आदेश कुर्ने र त्यसलाई मान्ने बताउँदै आएको कांग्रेसमाथि निर्वाचनकै पक्षपोषण गरेको आरोप पनि छ। यही मेसोमा कांग्रेसभित्र देखिएको दोधारे चरित्र, आन्तरिक माथापच्ची र १४ औं महाधिवेशनबारे केन्द्रित रहेर केन्द्रीय सदस्य गुरुराज घिमिरेसँग नेपाल समयका तीर्थराज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश : 

कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको छ। तर पुनर्स्थापनाको मागचाहिँ किन गर्न नसकेको ? 

मुख्य कुरा संसद् विघटन विधिसम्मत् छ कि छैन भन्ने हो। हामीले प्रधानमन्त्रीको कदम विधिसम्मत् छैन भनेका छौं। असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवाद उन्मुख भनेर पार्टीले निर्णय गरिसकेको छ। 

अदालतमा मुद्दा विचाराधीन छ। कांग्रेसभित्र चुनाव भएमा भाग लिनुपर्छ भन्ने एउटा विचार छ। अर्को पक्षचाहिँ यो कदम विधिसम्मत् छैन, सच्याउनुपर्छ भन्ने छ। सच्याउनु भनेको पुनर्स्थापना हो। यी दुई विचार समानान्तर छन्। लोकतन्त्रको प्राण लिएर गरिने तथाकथित निर्वाचनको खास अर्थ हुँदैन। संविधानको अन्तिम व्याख्या गर्ने अदालतले हो। अदालतको फैसला चित्त नबुझे पनि स्वीकार गर्नुपर्छ। अदालततर्फ धारे हात लाउने, फैसला मान्दैनौं भन्ने कुरा लोकतन्त्रवादीले सोच्दैनन्। अदालतले गल्ती गर्दैन भन्ने लोकतन्त्रवादीको विश्वास छ। त्यसैले पार्टीमा यी दुई थरी विचार आएका हुन्। 

अब निर्वाचन भयो भने कांग्रेस ठूलो पार्टी हुन्छ भन्ने आस पनि होला। हामीले विधि कुल्चिएर गरेको संसद् विघटन मान्न हुँदैन भनेका छौं। लोकतन्त्र भनेको विधिको शासन हो। यो शासन स्थापना गर्न हामीले लामो लडाइँ लडेका छौं। प्रमुख कुरा सत्ता प्राप्ति होइन, विधिको शासन जोगाउने हो। 

पछिल्लो केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पुनर्स्थापनाको माग गर्ने निर्णय गरौं भनेर राखेको प्रस्तावलाई सभापतिले ठाडै अस्वीकार गर्नुभयो। यसले कांग्रेस विरोधाभासबाट गुज्रिरहेको देखिँँदैन र ?

रामचन्द्र दाइले पुनर्स्थापनाको माग गरौं भन्नुभएको थियो। सभापति शेरबहादुर देउवाको धारणा अदालतमा मुद्दा छ, भोलि अदालतले चुनाव भनिदियो भने के गर्ने भन्ने हो। त्यो टुंगो नलागीकन एउटै कुरामा अड्डी लिन हुँदैन। संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेका छौं। यो भनेको पुनर्स्थापना नै हो भन्ने उहाँको भनाइ थियो। सभापतिले भोलिका दिनमा छलफल गरेर पुनर्स्थापनाको माग गर्न पनि सक्छौं भन्नुभएको हो। प्रधानमन्त्रीले संविधान मिचेको भन्ने कुरामा अलमल छैन। नेताहरुको बोलीको आशय एउटै भए पनि भन्ने तरिका फरक देखियो। 

सभापति देउवाले नुवाकोट पुगेर चुनाव जसरी पनि हुन्छ, तपाईंहरु ओलीको विरोध गर्न सक्नु हुने भयो। अब प्रचण्डको पनि विरोध गर्न सक्ने हुनुहोला भनेर आफ्नै नेताहरुलाई भन्नुभयो। यसले कांग्रेसभित्र ओली र प्रचण्ड लाइन छ भन्ने प्रस्ट भएन र ?  

प्रचण्डको कसले विरोध गरेको छैन र ? अहिलेको मुख्य दोषी केपी ओली हुन्। त्यसैले ओलीलाई फोकस गरेको हो। सशस्त्र विद्रोहमा हुँदा प्रचण्डको विरोध गर्ने कांग्रेस नै हो। हिंसात्मक विद्रोहको सबैभन्दा ठूलो मूल्य कांग्रेसले चुकायो। ०५९ देखि ६२–६३ को आन्दोलन र १२ बुँदे सहमति नभएसम्म दरबारतिर मात्रै हाम्रा औंला ठडिएनन्, प्रचण्डतिर पनि ठडिए। अहिले प्रचण्ड १९ र ओली २० हुन्। ओलीले गल्ती गरेका छन्, संविधान मिचेका छन्।

यसको कारण खोतल्दै जाँदा त प्रचण्ड र माधव नेपाल पनि कारक हुन्। उनीहरूलाई पनि छाडेका छैनौं। पार्टी सम्हाल्न नसकेर, एकताबद्ध राख्न नसकेर र पाँच वर्षको जनादेश जोगाउन नसकेर प्रचण्ड–नेपाल सडकमा छन्। अहिले संयुक्त आन्दोलन भन्दैछन्, हामीले मानेका छैनौं। प्रचण्डलाई ओलीबराबर आलोचना गर्न जरुरी छैन। ओलीसरह प्रचण्डलाई आलोचना गर्ने हो भने त्यो हाम्रो कमजोरी हुन्छ। सभापतिले कुन सन्दर्भमा भन्नुभयो, थाहा छैन। तर हामीले नेकपाकै अन्तरकलहको सिकार प्रतिनिधिसभा भंग भयो भनेका छौं।  

पोखरा पुगेर सभापतिले हामीसँग आन्दोलन गर्न पैसा छैन भन्नुभयो। पैसा अभाव भएकै कारण कांग्रेसले थप आन्दोलनका कार्यक्रम घोषणा नगरेको हो ?

आन्दोलन गर्ने प्रमुख तत्त्व पैसा होइन। पैसाको बलमा मात्रै आन्दोलन गर्न सकिने हो भने २०४६ सालको आन्दोलन नै हुँदैनथ्यो। ०६२–०६३ को आन्दोलन नै हुँदैनथ्यो। ०७ सालमा राणासँग कति पैसा थियो होला ? राज्यको ढुकुटी नै उनीहरुको कब्जामा थियो। तर, हामीले क्रान्ति गर्‍यौं नि। त्यसैले मुख्य तत्त्व पैसा होइन। पैसा आवश्यकता हो। चाणक्यले पनि भनेका छन्– साधन, स्रोत, संगठन र कार्ययोजना। हामी यी तीन कुरा नभईकन उद्देश्य पूरा गर्न सक्दैनौं। सबैभन्दा पहिला योजना चाहियो, संगठन चाहियो र त्यसलाई गतिशील बनाउन पैसा चाहियो। पैसा आवश्यक हो तर सम्पूर्ण कुरा होइन। 

सभापतिले भनेको के सत्य हो भने अहिले पैसाको भरमार दुरुपयोग भएको छ। प्रधानमन्त्री आफैं जुलुसको आयोजक हुनुहुन्छ। राजनीतिक दलहरुलाई गाली गर्न ती जुलुस निकालिएको छ। संसद् रहँदासम्म विपक्षीलाई गाली गर्नुभयो। कांग्रेसलाई तथानाम गाली गर्नुभएकै हो। हामीले त्यो बिर्सिएका छैनौं। सदनलाई असंवैधानिक रूपमा बलपूर्वक भत्काएर प्रचण्ड र माधव नेपाललाई गाली गर्दै हुनुहुन्छ। त्यसका लागि राज्यको ढुकुटीको चरम दुरुपयोग गरिएको छ।

प्रचण्ड र नेपालले पनि मान्छे ओसार्न पैसाको चलखेल गरेका छन्। देशभरबाट गाडीमा हालेर खाने, बस्ने व्यवस्था गरेर मान्छे काठमाडौं ल्याइयो। कतिपय मानिसले आन्दोलनमा किन आएको भन्दा जवाफ दिएको कुराबाटै प्रस्ट भएको छ। कम्युनिस्ट पार्टीसँग जत्ति पनि पैसा छ। कतिपयसँग लुटेकै पैसा बाँकी होला। धम्क्याएर असुल गर्न पनि उनीहरुलाई सहज छ। राज्यको ढुकुटीको तालाचाबी आफैंसँग छ। त्यस्तो पैसा हामीसँग छैन भनेर उहाँले भन्नुभएको हो। 

अब मातहतका समितिले आन्दोलन गर्छन् कि कांग्रेस चुप लागेर बस्छ ? 

हामीले आन्दोलन रोकेका छैनौं। केन्द्रले गर्ने आन्दोलनका कार्यक्रम वडा तहसम्म पुर्‍यायौं। जिल्ला कार्यसमितिले महाधिवेशनको कार्यतालिका प्रभावित नहुने गरी कार्यक्रम गर्ने, भ्रातृसंस्थाले पनि पार्टीसँग समन्वय गरेर आन्दोलन गर्ने भनेर मार्गप्रशस्त गरेका छौं। हामीले गरेको निर्णयअनुसार साथीहरुले आन्दोलनका कार्यक्रम बनाउनुभयो भने ठिक छ। बनाउनुभएन भने पनि अनिवार्य छैन। मलाई लाग्छ, पार्टीले गरेको निर्णयअनुसार आन्दोलनको कार्यक्रम अघि बढ्छ। 

नेताहरु गुटगत रूपमा जिल्ला दौडाहामा निस्कने क्रम बढेको छ। यो महाविधेशनको तयारी हो वा केन्द्रले आन्दोलन घोषणा नगर्दाको परिणाम ?

मूल कुरा त मुलुकको राजनीतिलाई हामीले तदर्थवादी ढंगले चलायौं। हाम्रो स्पष्ट कार्ययोजना रहेको भए मुलुकले यति दुःख पाउँदैनथ्यो। प्रजातन्त्र प्राप्ति, पुनः प्राप्तिपछि प्रजातन्त्रले आफ्नो बाटो आफैं तय गर्नुपर्थ्यो। विकासका प्राथमिकता, साधनस्रोतका सम्भावना, आफ्नो सामर्थ्य, जनशक्ति, प्राथमिकता क्षेत्र निर्धारण हुन सकेन। संसारभर छरिएको जनशक्तिलाई कसरी विकासमा सरिक गराउने, साधनस्रोत कसरी संग्रह गरेर देशलाई विकासपथमा अघि बढाउने भन्नेमा हामीले हेक्का राखेनौं। यो कार्ययोजना हामीसँग भएन। युरोप–अमेरिका एकै रातमा बनेका होइनन्। 

हामी बीपीका अनुयायी हौं। अहिले विकासको रूपरेखा जति छ, त्यसको जग उहाँले ०१५ सालमा बसाउनुभएको हो। ०४८ सालमा हामीले अवसर पायौं। कोसिस पनि गरेकै हौं। तर पर्याप्त भएन। मुलुकको विकास जुन उचाइमा हुनुपर्थ्यो, त्यो भएन। त्यसलाई देखाएर माओवादीले विद्रोह सुरु गर्‍यो। हामीले भ्रष्टाचार रोक्न सकेनौं। राजनीतिका विकृति रोक्न सकेनौं। विद्रोह फैलियो र राजतन्त्र अन्त्यका लागि आन्दोलन गर्नुपर्ने अवस्था आयो।

०१५ सालमा पनि राजाले प्रजातन्त्रमाथि हमला गरे। त्यसको पुनरावृत्ति पनि भयो। हामीले शासन व्यवस्था कुशलतापूर्वक सञ्चालन गर्न सकेको भए, राजा र माओवादी दुवैले ठाउँ पाउँदैनथे। अन्ततः राजतन्त्र बिदा गरेर लोकतन्त्र स्थापना गर्नुपर्‍यो। संविधान बनाउन पनि हामीले धेरै समय लगायौं।  

पार्टीभित्र पनि त्यही हो। पार्टी सञ्चालन गर्ने विधि छ। विधानले व्यवस्था गरेको प्रक्रिया छ। विधि र प्रक्रियाबाहिर गएर पार्टी चलाउने कुरा हामीले सोच्छौं। त्यहाँबाट समस्या आउँछ। हामी विधानको पालना गर्ने भन्दा पनि आफू कसरी बलियो हुने, गुट कसरी बलियो बनाउने र अमुक पद कसरी प्राप्त गर्ने, पटकपटक मुलुकको प्रधानमन्त्री कसरी बन्ने भन्नेमा केन्द्रित छौं। हामीले राणा फाल्यौं, पञ्चायत फाल्यौं। तर, अवसरवादी, मौकापरस्त स्वार्थलाई तिलाञ्जली दिन सकेनौं।

दलीय संस्कृति प्रजातन्त्रको मौलिक संस्कृतिअनुरुपको हुनुपर्थ्याे नि। साझा रूपमा सोच्ने, साझा रूपमा काम गर्ने, समुदाय र राष्ट्रका लागि काम गर्ने व्यवस्था हो नि बहुदलीय संसदीय व्यवस्था। प्रणालीचाहिँ बदलिरहने, आफूचाहिँ बदलिन नचाहने भयौं हामी। अहिले त झन् लोकतान्त्रिक गणतन्त्र ल्यायौं। तर काम गर्ने तरिका परम्परावादी छ, चिन्तन र सोच त्यही छ। संकट परेका बेला पार्टीका नेताहरु एकै ठाउँमा बसेर समाधानको उपायबारे छलफल गर्नुपर्ने हो। संसद् पुनर्स्थापना गराउन आन्तरिक र बाह्य लबिङ गर्नुपर्ने हो। बाहिर बोल्ने एउटा कुरा होला, भित्री कार्ययोजना पनि त चाहिएला नि। सबै एक भएर यसमा जुट्नुपर्ने हो नि। यो प्रवृत्तिगत कमजोरी हो।  

यहाँले प्रवृत्तिगत कुरा गर्नुभो। पार्टीको केन्द्रीय समिति बैठक बोलाइन्छ। बैठकअघि गुटका नेताको छलफलले एजेन्डामा सहमति जुटाएर बैठकमा ल्याएर पेस गराइन्छ। केन्द्रीय सदस्यहरुले सही छाप गरिदिन्छन्। सभापतिले बैठक र सार्वजनिक कार्यक्रममै नेताहरुको हुर्मत लिँदै हिँड्नुहुन्छ, यसले कांग्रेसको लोकतान्त्रिक पार्टीको आवरणलाई गिज्याएन  र? 

महत्त्वपूर्ण कुरा हामीले प्रजातन्त्रलाई कसरी बुझ्यौं भन्ने हो। मैले प्रजातन्त्र भनेको सहअस्तित्व हो भनेर बुझेको छु। पार्टीका एक नेताले अर्को नेताको अस्तित्व स्वीकार गर्ने, कार्यकर्ताको अस्तित्व स्वीकार गर्ने र उनीहरुको सुझावअनुसार लोकतन्त्रका प्रचलित मान्यता शिरोपर गर्ने हो। सबैका जायज सल्लाह ग्रहण गरेर इमानदार र निष्ठापूर्वक धारणा बनाउने हो। त्यसैका आधारमा नीति तर्जुमा गर्ने हो। नयाँ पुस्ताले बुझेको प्रजातन्त्र र उहाँहरुले बुझेको प्रजातन्त्रमा अन्तर देखियो। 

उहाँहरुले बुझेको प्रजातन्त्र राजनीतिको केन्द्रमा जो बस्छ, उसैको इच्छामा पार्टी चल्नुपर्छ भन्ने हो। सभापतिलाई पार्टीका नेता आफैंले भनेअनुसार चल्नुपर्छ भन्ने लाग्छ। तर त्यो सर्वथा अनुचित हो। यो लोकतान्त्रिक संस्कारभित्र पर्दैन। त्यसैले हामीले प्रणालीमा फड्को मार्‍यौं तर चिन्तनमा फड्को मार्न सकेनौं। 

यसको मतलब सभापतिमा यो चिन्तन छैन भन्ने यहाँको आशय हो ?  

हरेक व्यक्तिमा प्रणालीअनुसारको चिन्तन विकास हुनुपर्छ। सभापतिमा मात्रै होइन, कतिपय नयाँ पुस्तामा पनि छैन। नयाँ पुस्ताले पाएका मौका हामीले हेरेका छौं। वडा सभापतिले बैठक नै बोलाउँदैनन्।, जिल्ला सभापतिले कति महिना बैठक नै डाक्दैनन्। आफूसँग हारेका व्यक्तिलाई जिल्ला कार्यसमितिमा मनोनीत नै गर्दैनन्। कतिपयले महत्त्वपूर्ण निर्णय गर्दा सल्लाह नै गर्दैनन्। यसले के बुझाउँछ भने हामीले हिजोको दुर्गुण अंगीकार गर्‍यौं। यो प्रणालीले सद्गुणको विस्तार गर्न सक्नुपर्थ्याे। प्रजातन्त्रको मौलिक संस्कृति हुनुपर्छ। हामीले पञ्चायत र राणाका दुर्गुण ग्रहण गरेका छौं। अनि प्रजातन्त्रिक मान्यताअनुसार पार्टी चलेको कहाँ देख्न पाइन्छ र ?  

नेताको छहारीभित्र विश्वास जितेर बस्न सकियो भने मात्रै हाम्रो भविष्य सुरक्षित छ भन्ने मनोवैज्ञानिक त्रास छ। जसले नेताको छहारी पाउँदैन, ऊ मूल्यांकनमा पर्दैन।

बहुमतको सरकार भए स्थिरता हुन्छ र मुलुकले विकासमा फड्को मार्छ भन्ने थियो। तर, अहिलेको सरकारलाई हेर्दा बलियो सरकार हुनुमात्रै स्थिरता होइन रहेछ भन्ने त देखायो नि होइन ?  

बहुमतको सरकार बन्नु मात्रै स्थिरता होइन रहेछ। यो कुरा अहिले प्रमाणित भयो। स्थिर बन्नका लागि हामीले विधिले पनि बाँध्यौं। पाँच वर्षसम्म बहुमतको सरकार चलोस्, अथवा दुई वर्ष कम्तीमा चलोस् भनेर संवैधानिक प्रबन्ध गर्‍यौं। संविधानको धारा ७६ राजनीतिक स्थिरताकै लागि हो। तर, विधिले बाँधेर मात्रै नहुने रहेछ। व्यक्तिको निजी चरित्र पनि तदनुकूल हुनुपर्ने रहेछ। विधिलाई निष्ठापूर्वक अनुशरण गर्ने व्यक्ति पनि कार्यकारी हुनुपर्ने रहेछ।

ओलीले त्यो कुरा पलना गर्नुभएन, उहाँमा त्यो चरित्र देखिएन। राष्ट्रपति पनि ओलीको इमानदार कारिन्दाजस्तो देखिनुभयो। नमिल्ने कुरा त मिल्दैन भन्न सक्नुपर्थ्याे। उहाँले तत्कालीन शेरबहादुर दाइको सरकारका पालामा तीन जना सांसदको सिफारिस फिर्ता गरिदिनुभयो। सरकारको सिफारिस बाध्यकारी होइन भन्ने त उहाँले व्यवहारबाटै देखाउनुभएको छ। तर, ओलीजीले गरेका सबै सिफारिस सदर गरिदिनुभयो। विघटनको सिफारिस असंवैधानिक हो भन्ने कुरा एकपटक पनि भन्नुभएन। संविधानको संरक्षकले रोक्न खोज्नु त पर्छ, सक्नु नसक्नु अर्को कुरा हो। त्यसैले विधिले बाँधेर स्थिरताको परिकल्पना गरेर मात्रै हुँदो रहेनछ। व्यक्तिको चरित्र, संविधानप्रतिको निष्ठा, अठोट मुख्य कुरा रहेछ।

म केका लागि राजनीतिमा छु भन्ने कुरा जसले बुझ्छ, उसले मात्रै राजनीतिलाई सही रूपमा ह्यान्डल गर्न सक्छ। अहिलेका राजनीतिकर्मीहरू औसत चेतनाका र मुलुकका लागि भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित छन्। समकालीन राजनीतिकर्मीमा मात्रात्मक फरक मात्रै हो। प्रजातान्त्रिक पार्टी भएकाले हाम्रो पार्टीमा यो मात्रा कम छ। मुलुकलाई मेरो मुठ्ठीमा राख्ने भन्ने हाम्रोमा छैन। कम्युनिस्ट पार्टीले मुलुकलाई आफ्नो मुठ्ठीमा राख्न खोज्छ। विश्वभरका अभ्यासले त्यही देखाउँछ। कम्युनिस्ट पार्टीमा मुलुकभन्दा पार्टी मुख्य हो र पार्टीभन्दा नेता मुख्य हो। केपी ओलीले आफूलाई केन्द्रमा राख्नुभएको छ। 

कम्युनिस्ट पार्टी र लोकतान्त्रिक पार्टीमा फरक के हो भने हामीले शिरमा जनता र मुलुकलाई राख्छौं। त्यो भन्दा मुनि प्रणाली, त्यो भन्दा तल राजनीतिक दल, दलभन्दा तल मात्रै नेता हो। दार्शनिक पक्ष र हाम्रो संघीय शासन प्रणालीको दार्शनिक पक्षलाई हेर्ने हो भने यो बाटो उहाँहरुको हुँदै होइन। आफ्नो लक्ष्यमा पुग्न उहाँहरुले यो बाटो प्रयोग गरेको हो। होइन भने उहाँहरुले दस्तावेज बदल्नुपर्‍यो नि। पूर्वी युरोपका रोमानिया, हंगेरी, पूर्वी जर्मनी लगायतका मुलुकमा कम्युनिजम पतन भयो। त्यहाँका कम्युनिस्ट पार्टीले नाम नै बदले। उनीहरुले परम्परागत दर्शन बदले। कम्युनिस्ट पार्टीको लोकतन्त्रीकरण भयो, यहाँ भएको छ त ? अनि हामी लोकतान्त्रिक भयौं भनेर पत्याउन सकिँदैन।

त्यसैले दार्शनिक रुपमा पनि हामीले  कम्युनिस्टहरुमाथि वैचारिक प्रहार गर्नुपर्ने आवश्यकता देखिएको छ। यसमा हाम्रो पार्टीबाट कमजोरी छ। हामी पार्टीका काममा अलमलियौं, सत्ताका लागि केन्द्रित भयौं, हिजो शासनमा बस्दा पनि सरकारले गर्ने काम एउटा र पार्टीले गर्ने काम अर्को हुनुपर्थ्याे। सन् १९५५ भन्दाअघि सिंगापुरमा १२ वटा पार्टी थिए। जब लिक्वान यूले आफ्नो पार्टी पिपुल एक्सन पार्टी गठन गरे। त्यसपछि १९५५ मा निर्वाचनमा भाग लिए पाँच सिट आयो। तर चार वर्षसम्म जनताको बीचमा गएर काम गरे। कम्युनिस्ट पार्टीको चरित्रको पर्दाफास गरे।

एउटा कुरा दस पटक भनेर सत्य साबित गर्ने कम्युनिस्ट चरित्रलाई फर्दाफास गरे। अहिले यही चरित्र नेपालमा छ। प्रधानमन्त्री भन्छन्, ६ हजार किमि बाटो बनायौं। हाम्रो राजस्वले चालू खर्च धान्न सक्दैन। १० खर्ब चालू खर्च छ, नौ खर्बभन्दा बढी राजस्व उठ्दैन। जुन देशका जनताले तिरेको तिरोले कर्मचारीलाई तलब खुवाउन मात्रै पनि पर्याप्त छैन। त्यो मुलुकमा विकासको डंका पिटिएको छ। अन्तर्राष्ट्रिय अनुदान घटेको छ। हामीले देखेको विकास अन्तर्राष्ट्रिय ऋण र अनुदानबाट चलेका छन्। विश्वव्यापी प्रजातन्त्रको दिग्विजय भएका बेलामा कम्युनिस्ट पार्टी शासनमा छ। त्यसमा पनि एउटा सरकारमा छ, एउटा सडकमा छ। यस्तो बेलामा कांग्रेसले आन्तरिक रूपमा व्यवस्थापन गरेर कम्युनिस्टमाथि वैचारिक हमला गर्नुपर्छ। जनतालाई अलमलाएर निर्वाचन जितेको जितै छन्। यो उनीहरुको सफलता मात्रै होइन, हाम्रो संगठनात्मक असफलता हो। त्यसै विधिले बाँधेर, व्यवस्था परिवर्तन गरेर मात्रै हुँदैन। 

प्रधानमन्त्रीले त संसद् पुनर्स्थापना भयो भने आन्दोलन गर्छु भनेर धम्क्याउनुभएको छ। यहाँको विश्लेषण के छ ?  

प्रधानमन्त्रीले विराटनगरको सभामा अदालतलाई धम्क्याउनुभएछ। यो विडम्बना हो। आफैंले संविधानको व्यवस्था भत्काउने अनि अदालतलाई धम्क्याउने ? संसारमा यस्तो कुनै पनि देश छैन होला, प्रधानमन्त्रीले अदालतलाई धम्क्याउँदै हिँडेको। प्रधानमन्त्रीले त अदालतले गरेको निर्णय मान्छु भन्नुपर्ने हो। बरु हाम्रो सभापतिले नभन्दा हुन्छ। किनकि हामी विपक्षी दल हौं। गलत कदम सच्चिनुपर्छ भन्ने हो हामीले।

भोलि अदालतले गरेको निर्णयलाई मान्ने कुरा आफ्नो ठाउँमा छ। मलाई संसद् पुनर्स्थापना हुँदैन भन्ने लाग्दैन। किनभने विघटन सदर गर्नलाई टेक्ने कुनै पनि धारा छैन। त्यसैले अहिले मैले निर्वाचनको कल्पना पनि गरेको छैन। निर्वाचन हुने नै भयो भने पनि कस्तो निर्वाचन होला ? प्रचण्ड र नेपालहरु अहिले निर्वाचनमा जाने पक्षमा देखिँदैनन्। उनीहरुसँग निकै ठूलो जनमत छ। कांग्रेसभित्र पनि अवैधानिक रूपमा गरिएको निर्वाचन के गर्ने भन्ने विचार छ। भोलि पार्टीले निर्णय गर्ला।

त्यसैले निर्वाचन भइहालेमा शान्तिपूर्ण हुँदैन। ओलीजीले राज्य संयन्त्रको दुरुपयोग गर्नुहुन्छ, यसमा दुईमत नै छैन।कर्मचारीतन्त्र, सुरक्षा निकाय, राज्यको ढुकुटी दुरुपयोग गर्नुहुन्छ। निर्वाचन आयोगलाई उहाँले आफ्नो शाखा बनाउनुभएको छ। मलाई सूर्य चुनाव चिह्न दिने निर्णय गरिहाल्नुस् भनेर धम्क्याइरहनुभएको छ। यस्तो प्रधानमन्त्री, यस्तो द्वन्द्व भएका बेला भएको निर्वाचन कस्तो होला ? मलाई विश्वास छ संसद् पुनर्स्थापना हुन्छ। अदालतले संविधानको प्राण बचाउनुपर्छ। नभए दुनियाँकै लागि यो खराब दृष्टान्त हुने र नेपालको नाम बदनाम हुन्छ।

यहाँले पार्टीभित्रको प्रवृत्ति, असफलताको विषय उप्काउनुभएको छ। यस्तो अवस्थामा १४ औं महाधिवेशन हुँदै छ। युवा नेता भनिएका तपाईंहरुको भूमिका के हुन्छ? 

पार्टीको कार्यशैलीदेखि गतिविधि र आन्तरिक व्यवस्थापन बदल्नुपर्छ। मिल्छ भने पार्टीको आन्तरिक व्यवस्थापनको जिम्मा एकपटकका लागि कुनै एजेन्सीलाई दिए हुन्छ। राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले आन्तरिक व्यवस्थापनको जिम्मा एजेन्सीलाई दिएका थिए। मैले किन यसो भनिरहेको छु भने पार्टीको आन्तरिक व्यवस्थापनमा हामी आफैंले सुधार गर्न धेरै कठिन छ। अहिलेको बेथितिमा रमाएको ठूलो जमात छ। त्यो जमातले अव्यवस्थालाई नै आफ्नो उत्थानको आधार देखेको छ। उनीहरुलाई आफ्नो योग्यता, ल्याकत, सामर्थ्य , क्षमतामा विश्वास छैन। समय र घटनाक्रमले कोही नेताका कारण, कोही अस्थिर राजनीतिका कारण पार्टीको उच्च तहमा पुगेका छन्। त्यो व्यक्तिले व्यवस्थापन चाहँदैन। यो अव्यवस्थापनले कांग्रेसको भविष्य राम्रो हुँदैन। 

नयाँ पुस्ताले व्यवस्थित, पारदर्शी, निर्णय प्रक्रियामा सबै सहभागी हुने र सिद्धान्तअनुसारको व्यवहार गर्ने पार्टी खोजेको छ। नेताले मुखले बोलेको कुराबाट होइन, कामबाट मात्रै भरोसा गर्छ। इतिहासका कुरा र कथा हाम्रा लागि सम्पत्ति हुन्। हिजोका गौरवका कथा छन्, त्यो पस्केर मात्रै अब हुँदैन। नयाँ पुस्तालाई डेलिभरी के हो त? नयाँ पुस्ता यहाँ काम गर्न तयार छ। तर अवसर छैन। अवसर अर्कैले खोसिदिन्छ। नेताले काम गर्नेलाई होइन, अर्कै व्यक्तिलाई ल्याएर पदमा राखिदिन्छ।

पार्टीले पद्धतिसंगत रूपले होइन कि मनोगत रूपमा कसैलाई जनतामाथि थोपरिदिन्छ। कम्युनिस्ट एप्रोच छ। जनताले रुचाएको व्यक्तिलाई नै नेताले उम्मेदवार बनाउने हो। तर कम्युनिस्ट पार्टीले उम्मेदवार माथिबाट तोकिदिन्छ। त्यसलाई भोट हाल भन्छ, जनता लाइन लागेर भोट हाल्छन्। त्यहाँ प्रजातन्त्र छैन। हाम्रो व्यवहार कम्युनिस्टको जस्तो छ। मान्छे तोक्ने र भोट हाल भन्दिने। ऊसँग क्षमता पनि हुँदैन र जनतासँग अपनत्व पनि हुँदैन। त्यसैले यस्तो प्रवृत्ति बदल्नुपर्छ। पार्टी व्यवस्थापन पनि फेर्नुपर्छ। 

तपाईंहरु पार्टीभित्र यति धेरै समस्या औंल्याउनुहुन्छ। बोल्नुहुन्छ, तर तपाईंहरु नै विभिन्न गुटमा विभक्त हुनुहुन्छ। पार्टी बदल्न किन एकै ठाउँमा उभिन सक्नुभएन ?  

हो, हामीबीच नै एकता छैन। किनभने हामीलाई पनि असुरक्षित हुने डर छ। नेताको छहारीभित्र विश्वास जितेर बस्न सकियो भने मात्रै हाम्रो भविष्य सुरक्षित छ भन्ने मनोवैज्ञानिक त्रास छ। जसले नेताको छहारी पाउँदैन, ऊ मूल्यांकनमा पर्दैन। राजनीतिबाट यति धेरै युवा पलायन भएका छन्। यहाँको भद्रगोल, अव्यवस्था, पार्टीभित्रको प्रवृत्तिले आजित बनेर राजनीति छोडेर पलायन भएका छन्। यो सबै कुरा परिवर्तन नगर्ने हो भने अहिलेको समाजको नेतृत्व हाम्रो पार्टीले गर्न सक्दैन। 

जो बाहिर पढेर बसेको जनशक्ति छ, अवसर दिने हो भने ऊ फर्कन्छ। राम्रो जनशक्तिलाई अवसर दिने हो भने उसले काम गर्छ। कुनै गोल्ड मेडलिस्टलाई तिमीले पाँच वर्ष पार्टीमा काम गर, निर्वाचनको तयारी गर, विकासको मोडल तयार गर, तिमीलाई काठमाडौंको मेयरको उम्मेदवार बनाउँछौं भनेर जिम्मेवारी दिने हो भने ज्यान फालेर काम गर्छ नि। देशभरका सबै स्थानीय तहमा नयाँ पुस्तालाई अघि बढाउन सकिँदैन। एकैपटक सांसद बनाउन नसकिएला। तर स्थानीय तहको प्रमुख, प्रदेश सांसद बनाउन सकिन्छ। विदेशमा पढेर आएकालाई सल्लाहकार बनाउन सकिन्छ। यस्ता किसिमका कार्ययोजना पार्टीले बनाएन।

यी योजना कार्यान्वयन गर्न त त्यही किसिमको नेतृत्व चाहिएला। तपाईंहरु फरक–फरक नेताको पछाडि दौडिरहनुभएको छ। एक ठाउँमा रहेर पार्टीलाई नयाँ ढंगले चलाउने प्रयास किन नगरेको ? 

हामी एकै ठाउँमा आउने कोसिस भइरहेको छ। मैले आफूलाई पदीय लोभबाट मुक्त राखौं र पार्टी सुधार गरौं भनेको छु। एकपटक नेतृत्वमा नबस्दा केही फरक पर्दैन। बूढापाका योग्य छन् भने पदमा नबस्दा उमेर जान्छ। तर युवा एक पटक पदमा नहुँदा केही हुँदैन। अहिले पार्टी सभापति हुने प्रयासमा जो–जो हुनुहुन्छ, उहाँहरूमध्ये उत्कृष्ट जो छ, जसलाई पार्टीका साथीहरुले विश्वास गर्छन्। उसलाई जिम्मेवारी दिए हुन्छ। सहमति नभए निर्वाचन गरे हुन्छ। त्यागको भावनाले त एकपटक साथीहरुको बीचमा लोकप्रिय बनाउला नि त। महात्मा गान्धी त्यागले नै राष्ट्रपिता भएका हुन्। गणेशमान सिंह त्यागले सर्वोच्च नेता बनेका हुन्।

गौतम बुद्धले दरबार नत्यागेको भए भगवान् हुन्थेनन्। त्यागले मानिसलाई माथि लैजान्छ। छलफल गर्दा मैले त्याग गरौं भनेको छु। कतिपय मन्त्री भइसक्नुभयो, कतिपय सांसद भइसक्नुभएको छ। सामूहिक रूपमा पार्टी सुधार गर्छौ, यो पटक हामी केही पनि लिँदैनौं भन्न सक्छौं। असुरक्षित महसुस नगरौं भनेको छु। योग्यता नहुनेले असुरक्षित महसुस गर्छ। हामीसँग योग्यता छ, छवि पनि बिग्रिएको छैन। अवसरले परीक्षण गर्ने हो। एकताबद्ध भएर अघि बढौं, पार्टीलाई आन्तरिक रूपबाट सुधार नगरी बाहिर सुधारका कुरा गरेर मान्छेले पत्याउँदैनन्। प्रजातन्त्रलाई फलाकेर सिद्ध गर्न सकिँदैन, व्यवहारले सिद्ध गर्नुपर्छ। हामी त्यो प्रयत्न गर्छौं।


प्रकाशित: February 22, 2021 | 10:27:00 काठमाडौं, सोमबार, फागुन १०, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
संवाद

सरकार कांग्रेसकै नेतृत्वमा बन्छ, जनताको चाहनालाई केन्द्रमा राख्ने छौं : प्रकाशशरण महत [अन्तरवार्ता]

नयाँ पीढीको अपेक्षामा खरो उत्रिनुपर्ने देखियो। पार्टी, व्यक्तिको लाभहानीभन्दा माथि उठेर देश र जनताको लाभ हानीमा ध्यान केन्द्रित गर्नुपर्छ। उच्च कर्तव्यनिष्ठताका साथ रातदिन आफ्नो जिम्मेवारीप्रति पूर्ण जिम्मेवार भएर काम गर्नुपर्छ। त्यसपछि यो निराशाको माहौल हटेर हामीप्रति विश्वासको वातावरण बन्ने छ।
नेपाल समय
संवाद

मतदानको निष्पक्षतामा असर पार्ने जो कोहीलाई पनि कारबाही हुन्छ : दिनेशकुमार थपलिया [अन्तर्वार्ता]

मतदान शुरू हुने दिनभन्दा ४८ घण्टा अघिदेखि अर्थात आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ।
नेपाल समय
संवाद

मकवानपुरबासीको मन र मत पाउन प्रत्यक्ष चुनावमा होमिएकी हुँः महालक्ष्मी उपाध्याय [अन्तर्वार्ता]

मैले सांसदमात्रै बन्न उम्मेदवारी दिएकी होइन। सांसद बन्नकै लागि भए समानुपातिकको पहिलो नम्बरमा बस्थें। नेताहरूले समानुपातिकको सूचीमा बस्न आग्रह गरे पनि प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने अठोट लिएर मकवानपुरबासीको मन र मत पाउन चुनावी मैदानमा होमिएकी हुँ।
नेपाल समय
संवाद

शेरबहादुरजीले विश्राम लिनुपर्छ, प्रधानमन्त्री म बन्छु : शशांक कोइराला

मान्छेले राजनीति किन गर्छ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो तलामा जाने चाहना हुन्छ। त्यो चाहना मेरो पनि छ। म प्रधानमन्त्रीको बलियो उम्मेदवार पनि हो। पार्टीभित्र कुरा भइसकेको छैन तर म प्रधानमन्त्री बन्न बलियो दाबी गर्ने व्यक्ति हुँ।
नेपाल समय
संवाद

दलका घोषणापत्र बनाउने अर्थविद् लेखनदास मात्रै हुन् : डा. विमल कोइराला [अन्तर्वार्ता]

राजनीतिक दलले जारी गरेका घोषणापत्र वाचाकबुल र आश्वासन दिने तर काम नगर्नेहरूको फेहरिस्त मात्र हो। राजनीतिक दलहरूका बीचमा कति हावादारी गफ लेख्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ। जसले बढी हावादारी कुरा घोषणापत्रमा लेख्छ, उही जनताको बीचमा लोकप्रिय हुन्छ भन्ने भ्रम छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना