ब्याचलर इन बिजनेस स्टडिज (बीबीएस) व्यवस्थापन संकाय अन्तर्गतको चार वर्षे स्नातक कोर्स हो।
प्रवेश परीक्षा दिनु नपर्ने र व्यवस्थापकीय जनशक्तिको रुपमा बजारमा अवसर पाइने भएकाले यसतर्फ विद्यार्थीको आकर्षण अत्यधिक छ।
बजारको मागअनुसार बीबीएसको पाठ्यक्रममा समयानुकूल परिमार्जन हुँदै गएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्मा बताउँछन्।
‘बीबीएस अधिकांंश क्याम्पसमा अध्यापन हुने भएकोले विद्यार्थीको सहज पहुँचमा पनि छ,’ उनी भन्छन्, ‘खर्चका हिसाबले पनि व्यवस्थापनका अन्य विषयभन्दा यसको लागत कम छ।’
बीबीएस चौथो वर्षमा इन्टर्नसिप गर्नुपर्छ। बैंक तथा वित्तीय संस्था, बिमा, सेयरबजार र विभिन्न संस्थामा इन्टर्नसिप (व्यावहारिक शिक्षा) गर्नुपर्ने हुँदा विद्यार्थीले पढाइलगत्तै रोजगार पाउन सहज हुन्छ।
नेपाल मेगा कलेजका निर्देशक मधुकर पाण्डेका अनुसार बीबीएस नेपालको बजार सुहाउँदो कोर्स भएकाले रोजगार बजारमा बीबीएसको माग धेरै छ।
उनी भन्छन्, ‘यो विद्यार्थीको दक्षता अभिवृद्धि गर्ने र व्यावहारिक सीप सिकाउने कोर्स हो।’
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा ७७८ वटा क्याम्पसमा बीबीएस कार्यक्रम सञ्चालन भइरहेको छ। बीबीएसका प्रत्येक विषयलाई १५० घण्टा अध्यापन समय छुट्याइएको छ।
व्यवस्थापन संकाय वा अर्थशास्त्र मूल विषय लिएर कक्षा १२ वा सो सरह उत्तीर्ण विद्यार्थीले बीबीएस अध्ययन गर्न पाउँछन्।
बीबीएसमा भर्नाका लागि कक्षा १२ मा कम्तीमा डी प्लस ग्रेड ल्याउनुपर्छ।
बीबीएसमा इकोनोमिक्स, अकाउन्टेन्सी, बजार व्यवस्थापन, बिजनेस कम्युनिकेसन, बिजनेस ल, फाइनान्स, ह्युमन रिसोर्स म्यानेजमेन्टलगायत वित्तीय विषय पढाइ हुन्छ।
बीबीएस अध्ययन गर्न सरकारी कलेजमा चार वर्षको करिब ५० हजार जति खर्च हुन्छ भने निजी कलेजमा ५० हजारदेखि तीन लाखसम्म लाग्छ।
बीबीएसमा त्रिभुवन विश्वविद्यालयले कुल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। विश्वविद्यालयका आगिंक क्याम्पसले पनि जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, अपांगता भएका विद्यार्थीलगायतलाई पूर्ण वा आंशिक छात्रवृत्ति उपलब्ध गराउँछन्।
बीबीएस अध्ययनपछि विद्यार्थीले स्वदेशी तथा विदेशी विश्वविद्यालयमा एमबीए, इएमबीए, एमबीएम, एमबीएस अध्ययन गर्ने अवसर पाउँछन्। त्यसका साथै संकाय परिवर्तन गरेर पनि उच्च शिक्षा अध्ययन गर्न सकिन्छ।