बीबीएस कस्तो खालको संकाय हो?
बीबीएस त्रिभुवन विश्वविद्यालयको चारवर्षे कार्यक्रम हो। यसका विद्यार्थीले व्यवस्थापनका विषयमा विस्तृत जानकारी पाउँछन्।
यसको ‘क्रेडिट आवर’ बढी हुने भएकाले पनि सरकारी जागिर तथा वैदेशिक शिक्षाका लागि उपयुक्त हुन्छ। साथै विद्यार्थीले थोरै लगानीमा पनि स्नातकको पढाइ पूरा गर्न पाउँछन्।
बीबीएसको अध्ययन बीबीए, बीआईएम, बीबीएमको तुलनामा पाँचदेखि १० गुणा सस्तो हुन्छ। सामान्यतया अधिकांश कलेजमा बिहानी कक्षा हुने भएकाले जागिरसँगै शिक्षालाई पनि सँगसँगै लान सकिन्छ।
बीबीएस अध्ययनपछि रोजगारीका अवसर केके छन् ?
सरकारी जागिरका साथै विदेश अध्ययन, विभिन्न संस्थामा फाइनान्सियल कन्सलटेन्ट, मिडल लेभल म्यानेजर, एचआर म्यानेजर, अनुसन्धान तथा सूचना व्यवस्थापक, बजार प्रबन्धक, बिक्री प्रबन्धक, लेखा अधिकृत, शिक्षण संस्था, उद्योगलगायत क्षेत्रमा काम गर्ने प्रशस्त अवसर छन्।
बीबीएसको पाठ्यक्रममा कुनकुन विषय थप गर्नुपर्छ जस्तो लाग्छ ?
बीबीएसको पाठ्यक्रममा प्रोजेक्ट वर्क र इन्टर्नसिपको ‘क्रेडिट आवर’ बढाउन जरुरी छ। प्रयोगात्मकका साथै आन्तरिक मूल्यांकनलाई पनि पाठ्यक्रममा समावेश गरिनुपर्छ। रोजगार बजारमा आवश्यक पर्ने कम्प्युटरसम्बन्धी विषय पनि समावेश गर्नु आवश्यक छ।
सम्बन्धनप्राप्त कलेजका साथै विश्वविद्यालयले सुधार्नुपर्ने केही कुरा छन् कि?
पहिलो कुरा शिक्षालाई राजनीतिबाट अलग राख्न जरुरी छ। नियमित कक्षा सञ्चालन गर्न, छात्रवृत्तिको व्यवस्था पनि बढाउन जरुरी छ। ‘ड्रप आउट रेट’ लाई पनि कम गर्न विश्वविद्यालयले विशेष ध्यान दिन जरुरी छ।
त्यसका साथै समयमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न सके निके राम्रो हुन्थ्यो।
समृद्धि कलेजका विशेषताचाहिँ के हुन्?
हामीले किताबमा मात्रै केन्द्रित नगरेर प्रयोगात्मक विधि अपनाएर पनि कक्षा सञ्चालन गरिरहेका छौं। विद्यार्थीलाई इन्टर्नसिप गर्ने अवसर प्रदान गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गर्ने गरेका छौँ। कम्प्युटरको माध्यमबाट प्रस्तुतीकरणका कक्षा सञ्चालन गर्नुका साथै औद्योगिक भ्रमण, बाह्य विषय विज्ञको कक्षा, अतिरिक्त कक्षा र प्रयोगात्मक पढाइ हाम्रो विशेषता हो। त्यसका साथै छात्रवृत्तिको पनि व्यवस्था छ।