हरेक विषयको आफ्नै महत्त्व हुन्छ। तर, सबैभन्दा महत्त्वपूर्ण कुरा विद्यार्थीले आफ्नो रुचि र क्षमताअनुसारको विषय छनोट गर्यो कि गरेन भन्ने हो।
लहलहैमा लागेर रुचि र क्षमताभन्दा परको विषय छानियो भने भविष्यमा आफैंलाई घाटा लाग्छ। त्यसैले विषय छनोट गर्दा विशेष ध्यान दिनुपर्छ।
व्यापार/व्यवसाय वा बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने सोच छ भने बीबीएस, बीबीएम, बीबीए, एमबीएस, एमबीए वा एमबीएम विषय छान्नुपर्छ।
सरकारी जागिर रुचाउनेका लागि भने बीपीए वा एमपीए उपयुक्त हुन्छ। यी विषय आफूलाई पायक पर्ने कलेज छनोट गरेर अध्ययन गर्न सकिन्छ।
व्यवस्थापन संकाय विद्यार्थीको भविष्य निर्माणका लागि कोसेढुंगा साबित हुन सक्छ। व्यवस्थापन पढेर विद्यार्थीले आफैं व्यवसाय सुरु गर्न सक्छन् भने कुनै पनि वित्तीय क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्छन्।
रोजगारदाताले सम्बन्धित विषयका ‘डिग्री होल्डर’हरू खोज्दछन्। त्यसैले सहजै प्रभावकारी रूपमा आफ्नो शिक्षाको उपयोग हुन्छ।
व्यवस्थापन पढेका विद्यार्थीमा व्यवस्थापकीय क्षमताको विकास हुन्छ जसबाट उनीहरुले कुनै पनि क्षेत्रमा सजिलै सफलता प्राप्त गर्न सक्छन्। अन्य विषयमा त्यस्तो हुँदैन।
ख्वप कलेजमा स्नातक तथा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयले तोकेअनुसारको न्यूनतम योग्यता आवश्यक पर्छ।
त्रिविको अहिलेको पाठ्यक्रमलाई प्रतिस्पर्धी बनाउन मागअनुसारको योजना अभ्यास, ‘केस स्टडी’ समावेश गरिनु जरुरी छ।
सरकार, विश्वविद्यालय तथा अन्य सम्बन्धित निकायले नेपालमै विश्वस्तरीय शिक्षा दिन समयअनुसार पाठ्यक्रम परिमार्जन गर्न जरुरी हुन्छ। साथै विद्यार्थी केन्द्रित ‘विद्यार्थी सिकाइ केन्द्र’ बनाउनु पनि जरुरी छ।
बीबीएस÷बीबीएम पढ्ने विद्यार्थीले भविष्यमा ‘म व्यवस्थापन क्षेत्रमा काम गर्ने हो वा आफ्नै व्यवसाय सुरु गर्ने हो’ भन्ने बुझ्नुपर्छ।
अन्त्यमा, भन्नै पर्ने विषय के हो भने विद्यार्थीले जुनसुकै विषयबाट पनि सफलता प्राप्त गर्न सक्छन्। तर, सो विषयमा लगाव तथा समयसापेक्ष घटनाको अध्ययन गर्ने बानीको भने विकास गर्नैपर्छ।
(कुराकानीमा आधारित)