बीबीएसको पढाइपछिको अवसर कस्तो छ?
बीबीएसले सबै क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्छ। व्यवस्थापक नचाहिने कुनै पनि क्षेत्र हुँदैन। बैंक, वित्तीय संस्था, व्यापार व्यवसाय, प्रशासन लगायतका क्षेत्रमा भविष्य बनाउन चाहनेले बीबीएस छनोट गर्नु उपयुक्त हुन्छ।
बीबीएसलगायत जुनसुकै संकाय पढ्ने विद्यार्थीले पनि आफ्नो क्षमता र रुचिअनुसारको शिक्षा लिन जरुरी छ। त्यसैले आफू भविष्यमा के बन्ने हो प्रस्ट भएर विषय र संकाय छनोट गर्न मेरो सुझाव छ।
बीबीएसको अध्ययनपछि विद्यार्थीले कहाँकहाँ रोजगारीका अवसर प्राप्त गर्छन्?
बैंक तथा वित्तीय संस्था, व्यवस्थापन, प्रशासन क्षेत्रका साथै आफ्नै व्यापार व्यवसाय गरेर उद्यमशीलतातर्फ लाग्न सक्ने प्रशस्त अवसर छन्।
रोजगारदाताले बीबीएस अध्ययन गरेकै विद्यार्थी रोज्छन् भन्ने केही आधार छ?
बीबीएसको पाठ्यक्रमले व्यवस्थापक बन्न आवश्यक सम्पूर्ण पाठ्यसामग्रीलाई समेटेको छ। यसले सीप, क्षमता र ज्ञानले भरिएको जनशक्ति उत्पादन गर्ने भएकाले ठूला कम्पनीको नजरमा बीबीएस उत्तीर्ण गरेका विद्यार्थी रोजगारदाताको नजरमा पर्ने गरेका छन्।
बीबीएसको पाठ्यक्रममा समावेश गर्नुपर्ने नयाँ विषय केही छन् कि?
बीबीएस कार्यक्रमले सैद्धान्तिक हिसाबले सबै विषयलाई समेटेको छ। कम्तीमा ३० प्रतिशत पाठ्यक्रम प्रयोगात्मक बनाउँदा उपयुक्त हुन्छ। प्रयोगात्मक शिक्षामा अलि जोड दिँदा व्यवस्थापन सबैभन्दा उत्कृष्ट संकाय बन्छ भन्नेमा दुविधा छैन।
अन्य संकायभन्दा बीबीएस के कुराले फरक छ?
व्यवस्थापनभित्रको बीबीएस अध्ययन गर्ने विद्यार्थीमा आवश्यक सीप, ज्ञान, क्षमता, व्यवसाय कसरी सञ्चालन गर्ने आत्मविश्वास, स्रोत जुटाउने शैली, लगानीको सम्भाव्ययतालगायत विषयमा गहिरो ज्ञान हुन्छ।
त्यसका साथै व्यवस्थापन सञ्चालन विधि, संस्थाको दीर्घकालीन योजना तर्जुमा, सञ्चालन गर्ने रणनीति, मानव स्रोतको उच्चतम प्रयोग सम्बन्धी विधि, संस्थालाई कसरी सफल बनाउने योजनालगायतका ज्ञान बीबीएस अध्ययन गरेका विद्यार्थीमा हुन्छ।
गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विश्वविद्यालय र कलेजले ध्यान दिनुपर्ने कुरा केके हुन्?
राजनीतिक हस्तक्षेपविना पाठ्यक्रममा नियमित समायोजन, शैक्षिक क्यालेन्डरअनुसार पढाइ, समयमै परीक्षा एवम् नतिजा प्रकाशन, प्रयोगात्मक शिक्षा, विषय विज्ञबाट विशेष कक्षाको व्यवस्थालगायत कुरा व्यवस्था गर्ने हो भने विश्वस्तरीय शिक्षा खोज्दै कुनै मुलुक भौंतारिनु पर्दैन।
विद्यार्थीले रिलायन्स कलेजलाई किन रोज्ने?
गुणस्तरीय र प्रयोगात्मक शिक्षा, व्यावहारिक ज्ञान, उचित भौतिक पूर्वाधार, दक्ष अध्यापक, ठूला कम्पनीमा इन्टर्न र रोजगारीलगायतको लागि रिलायन्स रोज्न म विद्यार्थी र अभिभावक दुवैलाई अनुरोध गर्छु।