काठमाडाैं- मंसिर २८ गतेसम्म टेबहाल रोडको नाम धेरैलाई थाहै थिएन। काठमाडौं महानगरपालिका–२२ पर्ने यो रोड न्युरोडसँगै गाँसिएको छ। यसलाई संकटा मन्दिर प्रवेश मार्ग भनेर पनि चिनिन्छ। मंसिर २९ पछि यो मार्गको नाम एकाएक बदलियो। कसरी त?
स्थानीय व्यापारी मिलेर सडकको माथिल्लो भागमा चार सय हाराहारीमा रंगीबिरंगी छाता झुन्ड्याए। अनि मार्गको नाम परिवर्तन भयो– ‘अम्रेला स्ट्रिट’ अर्थात् छाता रोड।
सामाजिक सञ्जालमा भाइरल भयो। भिडियो र फोटो खिच्न आउनेको घुइँचो लाग्यो। धेरैले टिकटक बनाए। केही समयअघिसम्म सुनसान देखिने सडकमा छिचोल्नै नसकिने गरी भीड लाग्न थाल्यो।
भिडियो : गिरीप्रसाद भुसाल
रामेछाप घर भई हाल काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत इन्दिरा खड्का फोटो खिच्न र भिडियो बनाउनकै लागि आइतबार छाता रोड पुगिन्।
सामाजिक सञ्जालमा छाता रोडका फोटा देखेपछि हुटहुटी लागेर बहिनीहरुलाई साथमा लिएर आएको उनले सुनाइन्।
घुमफिर र मनोरञ्जनका लागि राजधानीमा यस्ता ठाउँ नभएको उनी बताउँछिन्। भन्छिन्, ‘पर्याप्न घुम्ने ठाउँ नभएकै कारण केही फरक देख्नेबित्तिकै युवाको भीड लाग्ने गरेको छ।’
टिकटक बनाउने र फोटो खिच्ने तन्नेरी पुस्ताले छाता रोडलाई जमघट गर्ने थलोका रुपमा समेत प्रयोग गर्न थालेका छन्।
ललितपुर भैंसेपाटीकी सुस्मिता केसीलाई छाता रोड आउने हुटहुटी पुसको पहिलो दिनदेखि लागेको थियो। बिरामी भए आउन नसकेकी उनी आइतबार टिकटकबाट चिनजान भएको साथीसँग भेटघाट गर्ने गरी आइपुगिन्।
उनी भन्छिन्– ‘यस्ता ठाउँको आवश्यक छ। रमाउनका लागि यो राम्रो मौका हो।
कोरोना महामारीका कारण सुकेको व्यापार उठाउन टेबहालका व्यापारी, स्थानीय र संकटा क्लबले रोडमाथि छाता हाल्ने जुक्ति निकालेको थियो।
क्लबका सचिव आशिषमान सिंहले पोर्चुगलको एउटा रोडमा यसै गरी छाता हालेको देखेपछि यस्तो प्रस्ताव गरेका रहेछन्। उनकै प्रस्तावबमोजिम करिब तीन लाख रुपैयाँ खर्च गरेर चार सय वटा छाता रोडमाथि झुन्ड्याइएको थियो।
छाता राख्नुअघि यो रोडमा दैनिक १५ सय हाराहारीमा मानिस ओहोरदोहोर गर्थे। छाता राखेपछि २५ सयसम्म आउने अनुमान व्यापारी र स्थानीयको थियो। सडकमा चहलपल बढ्ने र व्यापारमा टेवा पुर्याउने अपेक्षाबमोजिम उनीहरूले छाता झुन्ड्याएका रहेछन्।
तर रोडमा उनीहरूले अनुमान गरेभन्दा धेरै मानिस पुग्न थाले। भीड यसरी बढ्दै गएको कि त्यहाँ दैनिक १५ हजारभन्दा बढी व्यक्ति पुगे।
रोडमा सवारीसाधन गुडाउनसमेत नसकिने भयो। व्यवस्थापन गर्नै नसक्ने अवस्था बनेपछि २२ दिनमा छाता निकालियो।
संकटा क्लबका सचिव आशिषमान सिंह भन्छन्, ‘सोचेभन्दा कयौं गुणा बढी भीड लाग्यो। व्यवस्थापन गर्न नसक्दा थुप्रै जोखिम बढ्यो। त्यही कारण छाता निकाल्न बाध्य भयौं।’
घुम्न पुगेकाहरुको भने छाता निकालिएको प्रति दुःखेसो छ। यस्ता ठाउँलाई व्यवस्थित बनाउन र दिगो रुपमा चलाउने काम गर्नुको साटो छातै निकाल्नु राम्रो नभएको भक्तपुरका कृष्ण लामिछाने बताउँछन्। उनका अनुसार यस्ता ठाउँको विकास गरी थप व्यवस्थापन गर्दै जानुपर्छ।
स्थानीयका लागि २२ दिन जात्रा लागे जस्तै भयो। स्थानीय सर्जु रावतको अनुभवमा यस अवधिमा १२ वर्षमा संकटा मन्दिरमा लाग्ने मेलाभन्दा ठूलो भीड लागेको थियो।
धेरैलाई थाहै नपाएको ठाउँ दुनियाँले चिन्ने गरी चर्चित भएको उनको भनाइ छ। कुनै पनि ठाउँको पहिचानका लागि केही नयाँ काम गर्नुपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘टेबहालबाट राज्यले सिक्नुपर्छ र आन्तरिक पर्यटक बढाउनुपर्छ।’
व्यापारका हिसाबले भने छाता उति फलिफाप भएन। बरु भीड बढाउने र ग्राहक भड्काउने काम मात्र भयो। ठाउँको पहिचान र पछिसम्म मान्छे आउजाउका लागि भने राम्रो सहयोग पुर्याएको होटल व्यवसायी खिमानन्द पराजुली बताउँछन्। उनी भन्छन्, ‘कारोबार भएन त के भयो? ठाउँको प्रचार त भयो नि।’