काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक सोमबार पनि बस्दै छ।
स्थायी कमिटीको बैठक दिउँसो १२ बजे पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बैठक बस्न लागेको हो। आइतबार पनि नेपालकै अध्यक्षतामा बैठक बसेको थियो।
अध्यक्ष पुष्पकमल दाहाल भने पत्नीको उपचारका लागि मुम्बई जान लागेकाले उनी बैठकमा सहभागी हुने छैनन्।
प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटनविरुद्ध घोषणा गरिएको दोस्रो चरणको आन्दोलन, एकता प्रक्रिया टुंगो लगाउने लगायतका विभिन्न विषयमा छलफल हुने बताए।
यसअघि हिजोको बैठकले पार्टी भित्रको सांगठनिक कार्यविभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, केन्द्रीय संगठनहरू, मोर्चा संगठनका पदाधिकारीहरू र सांगठनिक एकीकरणका बाँकी काम सम्पन्न गर्ने अधिकार पाएको छ।
कार्यदलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण बिष्ट, वर्षमान पुन, मातृका यादव र शक्ति बस्नेत सदस्य छन्।