काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल सोमबार मुम्बई जाँदै छन्। दाहाल पत्नी सीता दाहालको उपचारका लागि मुम्बई जान लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘नियमित उडानमार्फत उहाँ अहिले केहीबेरपछि मुम्बई प्रस्थान गर्ने कार्यक्रम छ’, श्रेष्ठले भने। उनका अनुसार अध्यक्ष दाहाल बुधबारसम्म फर्किने कार्यक्रम छ।
दाहाल पत्नी सीता दाहालको उपचारका लागि मंगलबार नै चिकित्सकको समय निर्धारण गरिएकाले सोमबार मुम्बई लैजान लागिएको हो।
दाहाल पछिल्लो राजनीतिक घटनाक्रमका समयमा बाहिर जान नचाहेको भए पनि पत्नीले नमानेपछि जान लागेका हुन्।
दाहालले मुम्बईमा छोरी र ज्वाइँलाई राखेर आफू फर्किने कार्यक्रम छ।
दाहाल पत्नी लामो समयदेखि बिरामी छिन्। केही दिनअघि थप अस्वस्थ भएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।