धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण दरमा कमी आएको छ। प्रदेशमा आइतबार १३ जना नयाँ संक्रमित फेला परेका छन्।
प्रदेशमा सात जनाको आईसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै ३८ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा छन्।
दुई हजार २०८ जना होम आइसोलेसनमा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा केही दिनअगाडिसम्म कोरोनाका नयाँ संक्रमित ७५ जनासम्म फेला पर्दै आएका थिए।
मन्त्रालयका अनुसार प्रदेशमा एक सय १० जनाको स्वाब परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ११ हजार २५ पुगेको छ। प्रदेशमा हालसम्म १३ हजार ६ सय ५३ जना कोरोनाभाइरस पोजेटिभ भेटिएका छन्।
कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित
प्रदेशका विभिन्न जिल्लामा हाल दुई हजार ५७७ जना कोरोनाका सक्रिय संक्रमित छन्। सबैभन्दा धेरै सक्रिय संक्रमित कैलालीमा पाँच सय ३३ जना छन्।
कञ्चनपुरमा १० जना, डोटीमा २०५ जना, दार्चुलामा २७७ जना, अछाममा ३३३, बैतडीमा १२९, बझाङमा ४१७ जना, बाजुरामा ५७ जना र डडेल्धुरामा ३१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रदेशमा अन्य जिल्लाका ४७ र दुई जना अन्य देशका सक्रिय संक्रमित छन्।
हालसम्म ५१ जनाको मृत्यु
प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ। तीमध्ये कैलालीमा १२ महिलासहित ३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कैलालीमा जेठ २४ गते धनगढी उपमहानगरपालिका–४, शिवपुरी धामका ५५ वर्षीय पहिलो कोरोना संक्रमित महिलाको मृत्यु भयो। एक सातापछि गोदावरी नगरपालिका–१, भालुखोलाका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा मंसिरमा सबैभन्दा बढी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
असार र साउनमा कैलालीमा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार कात्तिकमा १३ जना, भदौ र असोजमा तीनतीन जना तथा जेठ र पुसमा दुईदुई जना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा ५१–६० वर्ष उमेरका धेरै
कैलालीमा सबैभन्दा बढी ५१–६० वर्ष उमेरका १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। ४१–५० र ७१–८० वर्ष उमेर समूहका आठआठ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
६१–७० र ८१–९० वर्ष उमेर समूहका चारचार जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३०–४० वर्ष उमेर समूहका तीन जना र ९१ वर्षमाथिका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
६ जना कोरोना संक्रमितको होम आइसोलेसनमा, ३० जनाको सेती प्रादेशिक अस्पतालमा र एक जनाको बर्दगोरिया र एक जनाको सारथी अस्पतालमा मृत्यु भएको केन्द्रले जनाएको छ। सबैभन्दा धेरै धनगढी उपमहानगरपालिकाका १५ जनाकाे मृत्यु भएकाे छ।
काेराेना संक्रमणबाट गोदावरी नगरपालिकाका १० जना, बर्दगोरिया गाउँपालिकाका दुई जना, गौरीगंगा नगरपालिकाका दुई, टीकापुर नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक जना, भीमदत्त नगरपालिकाका एक जनाकाे ज्यान गएकाे छ।
यस्तै बेलौरी नगरपालिकाका दुई जना, साँफेबगर नगरपालिकाका एक जना, केआईसिंह गाउँपालिकाका एकजना र दुहु गाउँपालिकाका एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।