आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालले ल्याउन खोजेको कोरोनाविरुद्धकाे भ्याक्सिन निर्यातमा भारतले रोक लगायो

नेपालले ल्याउन खोजेको कोरोनाविरुद्धकाे भ्याक्सिन निर्यातमा भारतले रोक लगायो

विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना भ्याक्सिन निर्यातमा भारतले रोक लगाइदिएको छ। कम्पनीले बनाइरहेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन निर्यातमा भारत सरकारले रोक लगाएको हो। 
 |  सोमबार, पुस २०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २०, २०७७

काठमाडौं- विश्वको सबैभन्दा ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोनाविरुद्धकाे भ्याक्सिन निर्यातमा भारतले रोक लगाइदिएको छ। कम्पनीले बनाइरहेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन निर्यातमा भारत सरकारले रोक लगाएको हो। 

भारतले हालैमात्र यो भ्याक्सिनको आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। अक्सफोर्डको कोरोना भ्याक्सिनलाई बेलायत लगायत अन्य कैयौं देशले पनि अनुमति दिएका छन्। 

सिरम इन्स्टिच्युट अफ इन्डिया यो भ्याक्सिनको मुख्य आपूर्तिकर्ता हो। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाका अनुसार पहिले आफ्नो देशका नागरिकलाई सुरक्षित राख्न भन्दै सरकारले भ्याक्सिन निर्यातमा रोक लगाएको हो। सरकारको निर्णयको सम्मान कम्पनीले गर्ने उनले बताए। 

भारतले आफ्नै देशमा बनेको अर्को भ्याक्सिन कोवाक्सिनलाई पनि मान्यता दिएको छ। 

भारतमा यही जनवरीदेखि विश्वकै सबैभन्दा ठूलो भ्याक्सिनेसन सुरू हुँदैछ। आगामी जुलाईसम्ममा ३० करोड  मानिसलाई कोरोनाको भ्याक्सिन लगाउने उसको योजना छ। 

सिरम कम्पनीले बनाएको कोरोना भ्याक्सिनमा नेपालले पनि चासो देखाएको छ। गत साता भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय भ्याक्सिन निर्माता कम्पनी र सरकारी अधिकारीहरूसँग कुराकानी गरेका थिए।

बेलायत, अमेरिका, क्यानाडालगायत कैयौं देशमा लाखौं मानिसले भ्याक्सिन लगाइसकेका कारण नेपालमा पनि भ्याक्सिन कहाँबाट र कसरी ल्याउने भन्ने चर्चा र तयारी बढेको छ। 

राजदूत आचार्यले भारतमा कोरोना भ्याक्सिन बनाइरहेको सिरम इन्स्टिच्युटका एक वरिष्ठ अधिकारी र भारतीय नीति आयोगका प्रमुख अमिताभ कान्तसँग कुराकानी गरेको बताएका थिए। सिरमले बेलायती कम्पनी एस्ट्राजेनेकासँग मिलेर अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन उत्पादन गरिरहेको छ। यो भ्याक्सिनको प्रभावकारिता ७० देखि ९० प्रतिशत भएको दाबी गरिएको छ। 

सिरमका अधिकारीहरूसँगको भेटपछि राजदूत आचार्यले भनेका थिए, ‘सिरम इन्स्टिच्युटको उत्पादन क्षमता निकै धेरै छ। यसले नेपालको आवश्यकता पूरा गर्न सक्छ। हामी सिरमसँग कुराकानी गरिरहेका छौं। उनीहरू नेपाललाई भ्याक्सिन उपलब्ध गराउन सकारात्मक छन्।’ 

गत महिना काठमाडौं आएका भारतीय विदेश मन्त्रालयका सचिव हर्ष श्रृंगलाले नेपालको आवश्यकता भारतको प्राथमिकता हुने बताएका थिए। 

राजदूत आचार्यका अनुसार सिरमका प्रमुख अमिताभ कान्तले नेपाललाई भ्याक्सिन उपलब्ध गराउने कुरालाई कम्पनीको प्राथमिकता दिने कुरामा प्रतिवद्धता जनाएका थिए। तर, अब सरकारले नै निर्यातमा रोक लगाएपछि यो सम्भावना देखिएको छैन। 

भारतमा उत्पादन हुने भ्याक्सिन सस्तो हुने र आपूर्ति पनि सजिलो हुने भएका कारण नेपालको प्राथमिकतामा पर्ने जानकारहरू बताउँछन्। सिरमले बनाएको भ्याक्सिनको मूल्य १५ सय रूपैयाँसम्म पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: Jan 04, 2021| 02:06 सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।