काठमाडौं- प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचन आगामी वैशाख १७ र २७ गते भइछाड्ने दाबी गरेका छन्।
काठमाडौंको बबरमहलमा आयोजित अनेरास्ववियूको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरेका हुन्।
"भर्खर सरकारविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा जवाफ दिएर आएको छु," उनले भने, " संसद विघटन भयो भयो, मरेको संसद बौरिदैन।"
उनले अहिलेसम्म पार्टीलाई गतिशील बनाउनका लागि विभिन्न व्यक्तिले अवरोध गर्दै आएकोमा अब त्यस्ता अवरोध पञ्छिएको भन्दै पार्टीका कामले गति लिने पनि दाबी गरे।
दाहाल–नेपाल समूहप्रति इंगित गर्दै ओलीले भने, "पार्टी फुटाउने षड्यन्त्रका २८० बैठक खुमलाटारमा बसेका थिए, ३५ बैठक बाहिर बसेका रहेका रहेछन्। सरकारलाई बदनाम गराउने खुल्याउने काम गर्न ३१५ बैठक बसेका रहेछन्।"
कतिपयले चुनाव हुँदैन भनेर भ्रम फिजाउन खोजेको भन्दै उनले थपे, "यो चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले सक्ने छैन।"