काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा. जागेश्वर गौतमलाई हटाएर मरासिनीलाई नियुक्त गरेका हुन्।
उनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्। मरासिनी यसअघि भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थिए। भरतपुर अस्पतालमा रहँदा अस्पताल सुधार गरेको भन्दै उनी सम्मानित पनि भएका थिए।
प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएदेखि गौतम विवादमा मुछिँदै आएका थिए। स्वास्थ्य उपकरण खरिदमा उनको संलग्नता देखिएका कागजातहरु नै सार्वजनिक भएका छन्। अस्पतालका कर्मचारीको मागका विषयमा छलफल गर्दा प्रहरी बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि गौतममाथि लागेको छ।
केपी ओली सरकारले डा. गौतमलाई गत जेठ १० गते कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो। कोभिड युनिफाइड अस्पतालबाट हटाएर गौतमलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरिएको छ।
उनी पहिले पनि प्रसूतिमै निर्देशक थिए। त्यहाँबाट स्वास्थ्य मन्त्रालय हुँदै गौतम युनिफाइड अस्पतालको निर्देशक बनेका हुन्।