काठमाडौं- चीनको स्वास्थ्य नियामक निकायले चीनमै निर्मित काेराेनाविरुद्धकाे एक खोपलाई अनुमति प्रदान गरेको छ।
वुहानबाट कोरोना संक्रमण फैलिएको एक वर्षपछि चीनले आफ्नै देशको सिनोफार्म कम्पनीले निर्माण गरेको खोपलाई ‘सशर्त’ अनुमति दिएको हो। यो खोप क्लिनिकल ट्रायलका क्रममा ७९ प्रतिशत प्रभावकारी पाइएको थियो।
खोपलाई अनुमति दिएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरुले अब विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको मुलकका नागरिक कोरोनाविरुद्ध सहज रुपमा लड्न सक्ने प्रतिक्रिया दिए।
सिनाफार्मले उत्पादन गरेको कोरोनाविरुद्धको खोप सिनोफार्म जाब विश्वका अन्य चर्चित खोपहरुसँग प्रतिस्पर्धामा आएको छ। यसअघि बेलायती कम्पनीले उत्पादन गरेको फाइजर बायोएनटेक अमेरिकी कम्पनीले उत्पादन गरेको मोडर्नासँग यो प्रतिस्पर्धामा निस्किएको हो।
तर यसको प्रभावकारिता भने ती खोप जत्तिको देखिएको छैन। फाइजर बायो एनटेक ९५ प्रतिशत र मोर्डना ९४ प्रतिशत प्रभावकारी पाइए पनि सिनाफार्म जाब ७९ प्रतिशत मात्रै प्रभावकारी देखिएको छ।
चीनमा यो खोपले अनुमति नपाउँदै त्यहाँ स्वास्थ्य क्षेत्रमा कामदारहरुलाई यसअघि नै यो खोप प्रदान गरिसकिएको छ। हालसम्म ४५ लाख डोज खोप प्रदान गरिसकिएको अधिकारीहरुले जनाएका छन्।
यसैबीच चीनमा पनि बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भेटिएको छ। बेलायतमा भेटिएको यो कोरोना भाइरस अन्य चीनमा यसअघि भेटिएको भन्दा धेरै खतरनाक मानिएको छ।