जनकपुरधाम– विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ।
यद्यपि यस वर्ष कोरोना संक्रमणको भय कायमै रहेको तथा प्रशासनले भीडभाड नगर्न निर्देशन जारी गरेकाले विवाहपञ्चमीको त्यस्तो रौनक नभए पनि यहाँको माहोल एक खालको उत्सवमय बनेको छ।
हुनत रामजानकीको विवाह हुने स्थल जानकी मन्दिरलाई सजाउने कार्य समेत एक महिना अगाडीदेखि नै सुरु हुने गर्थ्यो। तर अन्य वर्ष झैँ त्यो रुपमा नसजाइए पनि गैरआवासीय नेपालीहरूको सहयोग गरेको लाइटिंगले मन्दिरको दृश्य नै मनमोहक देखिने गरेको छ।
त्रेता युगको झ–झल्को दिने विवाहपञ्चमी महोत्सव हेर्नका लागि देश विदेशबाट लाखौँ दर्शनार्थी जनकपुरधाम पुग्ने गर्थे। नेपाली सीमा बन्द रहेका कारण त्यो रौनक यसपटक भने त्यति धेरै देखिएको छैन्।
जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष वैवाहिक कार्यक्रम आयोजन हुने गर्छ। वैवाहिक कार्यक्रमका लागि छोरीको बिहेका लागि जसरी मण्डप सजाइन्छ ठीक त्यसरी नै राम–जानकी विवाहका लागि समेत मण्डप सजाइन्छ।
जनकपुरधामम रहेको जानकी मन्दिरलाई मिथिला दरबारको रुपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारको रुपमा। जानकी मन्दिर तथा राम मन्दिरलाई बेहुली झैँ विवाहपञ्चमीको अवसरमा सिंगारिएको हुन्छ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहेको आयोजन गरिरहेको जस्तै अनुभव गर्ने गरेको प्रतिक्रिया दिए। महन्थ दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिकामा हुन्छन्।
यता राम मन्दिरका महन्थ राम गिरी पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दैनन्। उनी भन्छन्, ‘सीताजस्तो बुहारी पाउने भएपछि हर्ष विभोरहुनु स्वभाविक नै हो।’
त्रेता युगमा अयोध्याका नरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्री राम र मिथिलाका शिरध्वज राजर्षि जनककी पुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाईने विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिन्छ।
जसमा राम लक्ष्मणको प्रतिक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ।
विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो। फूलबारी लिलामा राम जानकीको पहिलो भेट गराइन्छ।
त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजामाई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको रामायणमा उल्लेख छ।
यो विधि यस वर्ष जानकी मन्दिरकै प्राङ्गणमा राम लीलाको आयोजन गरी फूलबारी लीला देखाइएको थियो।
अन्य वर्षहरुमा मन्दिरकै छेउमै राम जानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष सम्पन्न गरिँदै आएको थियो।
तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ। माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने बिर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने वचन लिएर धनुष यज्ञको आयोजन गरिएको मानिन्छ।
त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान १२ विघामा भएको विश्वास गरिन्छ। सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ।
महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा हजारौंको भीडका बिच तिलकोत्सव विधि सम्पन्न हुन्छ।
तिलकोत्सवमा जानकी मन्दिरबाट महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा १ सय १ पाहुर राम मन्दिरमा आउँछ।
जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरी बिच अंकमाल (समधि मिलान) हुन्छ।
तिलकोत्सवमा सहभागी महिला रामजानकीको बिहेका गीतहरु गाउँछन् भने हास्य परिहासको माहौल समेत हुने पूजारी ऋषिकेश झा बताउँछन्।
जसरी मिथिलामा समधीलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुबै पक्षबाट गालीसहित हासो ठट्टा गरिन्छ।
राम मन्दिरका महन्थ राम गिरीका अनुसार समधी मिलन कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पूजारीहरू सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्थ स्वयम, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरू सहभागी हुन्छन्।
महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ। मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाले जनकपुरधामकै पवित्र सरोवर रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन्। सोही माटोबाट विवाहकालागि वेदी तयार गरिन्छ ।
आज स्वयंवर र विवाह
छैठौ दिन आज ऐतिहासिक रंगभूमी मैदानमा स्वयंवर विधि सम्पन्न हुनेछ। आजै राती वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ।
स्वयम्बरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ।
स्वयम्बरपछि दूबै मन्दिरको डोला शोभा यात्रा गर्दै जानकी मन्दिर पुग्छ। जहाँ वैवाहिक कार्यक्रम हुने गर्छ। रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिला गीतनाद गाउने गर्छन्।
विवाहपञ्चमीको सातौं दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै विदाई गरिन्छ। जसलाई रामकलेवा भनिन्छ।
राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गलौज गर्ने समेत परम्परा छ। मन्दिरका पूजारीहरू तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन्। जसले अदभूत वातावरणको निर्माण गर्छ।
यस वर्ष अयोध्या निमन्त्रण नपठाइएकोले राम मन्दिरकै पुजारी तथा साधु सन्तहरुलाई सहभागी गराएर यो विधि सम्पन्न गर्ने योजना रहेको महन्थ राम तपेश्वर दास वैष्णवले बताए।
श्रद्धालुका लागि छैन वासस्थल
विवाहपञ्चमीमा नबोलाए पनि हजारौ श्रद्धालु तथा पर्यटक जनकपुरधाम पुग्ने गर्छन्। हजारौँ श्रद्धालुको व्यवस्थापन गर्नका लागि वास स्थलको आवश्यक्ता हुन्छ ।
यद्यपि यस वर्ष भने ती श्रद्धालु भक्तजनहरुलाई खुल्ला आकाश मुनी नै रात बिताउनु पर्ने बाध्यता देखिएको छ। जनकपुरधाम उपमहानगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद र जानकी मन्दिर स्वयंले यस विषयमा ध्यान नपुर्याउँदा श्रद्धालुहरूको विजोग हुने भएको हो।
नेपाली सीमा बन्द रहेका कारण भारतको मधुवनीबाट पैदल यात्रा गरेर आएका रामनरेश गुप्ताले पहिलेको तुलनामा केही पनि व्यवस्था नगरिएकोमा दुखेसो पोखे।
उनले भने, ‘पहिले पहिले आउँदा रंगभूमि मैदानमा वासका लागि पाल लगाइएको हुन्थ्यो तर यसपटक गरिएको रहेनछ, अब के गर्ने? विवाह हेर्छु फेरी राती नै पैदल निस्किन्छु।’
यता जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले कुनै पनि तहको सरकारले सहयोग नगरेका कारण र प्रशासनले भीडभाड गर्न अनुमति नदिएका कारण व्यवस्थापन फितलो भएको स्वीकार गरे।
विवाहपञ्चमीले धानेको पर्यटन
जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्ने कुरो संघ, प्रदेश र स्थानीय तीनवटै सरकारका प्रतिनिधि पटक पटक वक्तव्य दिने गर्छन्।
तर अहिलेसम्म त्यसका लागि पूर्वाधार तयार पारेको देखिदैन। जबकी बिना कुनै आमन्त्रण कार्ड, बिना कुनै बोलावट प्रत्येक वर्ष सहभागी हुने लाखौं पाहुनालाई मात्रै विवाहपञ्चमी महोत्सवमा व्यवस्थित गर्न सकियो भने जनकपुरधामको पर्यटनमा ठूलो टेवा पुग्नसक्छ।
अर्थशास्त्री डा. सुरेन्द्र लाभ भन्छन्, ‘विवाहपञ्चमीलाई व्यवस्थित गरेर जनकपुरधाम घुम्न आउने पर्यटकलाई राम्ररी स्वागत गर्ने वातावरण बनायो भने पनि जनकपुरधामले आर्थिक रुपमा कायापलट गर्न सक्छ।’
जनकपुरधाम आउने पर्यटकका लागि वास स्थल, शौचालय, सफा खाने व्यवस्था नभएपछि पवित्र स्थलप्रति नै वितिृष्णा जाग्ने गरेको होटेल व्यवसायी जीवनाथ चौधरी बताउँछन्।