काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीका चार वटा तुइन विस्थापित गरी झोलुंगे पुल निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिएका छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा उनले भने, 'नेपालका केही नदीमा वारी र पारी तर्न तुइनको प्रयोग गर्नु परिरहेको छ। यसै सन्दर्भमा महाकाली नदीमा चार वटा तुइनलाई विस्थापित गरेर झोलुंगे पुल निर्माण कार्य अघि बढिरहेको छ। अहिलेको असहज परिस्थितिका कारण निर्माण सम्पन्न भइसकेको छैन।'
महाकाली नदीको मालघाट तर्ने क्रममा दार्चुला जिल्लामा एउटा ज्यादै दुखद, गम्भीर र संवेदनशील घटना घटेको उनले बताए। 'साउन १५ गते बिहान व्यास २ मा ३३ वर्षीय जयसिंह धामी तुइन तर्ने क्रममा नदीमा झरेर बेपत्ता भएको भनेर नरेन्द्रसिंह धामीसहितले जिल्ला प्रशासन दार्चुलामा निवेदन दिएका थिए। नेपालको मालघाटबाट दार्चुला सदरमुकाम खलङ्गा प्रस्थान गरेको भन्ने रिपोर्ट छ। नेपालको बाटोबाट जाँदा झन्डै दिनभर लाग्छ। यात्रा छोटो बनाउन भारतीय बोटा हुँदै सवारी चढेर धार्चुला पुग्ने र दार्चुला आउने भन्ने रहेछ। त्यसो गर्दा करिब डेढ घण्टा लाग्ने रहेछ। त्यस्तो अवस्थामा तुइन तर्ने क्रम अहिले पनि जारी नै रहेको छ,' गृहमन्त्रीले भने। सोही दिन गृह मन्त्रालयले दार्चुला प्रशासनलाई निर्देशन दिएको र सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धानका अधिकृत खटिएको उनले बताए।
उक्त विषयमा दार्चुलामा सर्वदलीय बैठक बसेको र अहिले धामीको खोजतलासको काम भइरहेको उनले बताए। 'भारततर्फका सुरक्षाकर्मी पनि खोजतलासमा जुटेका छन्। १७ गते बसेको बैठकले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेर १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। टोलीलाई घटनास्थलमा पठाइएको छ। सत्यतथ्य चाँडै बाहिर ल्याउने छौं,' उनले भने।