म अभिनेता हुँ। र, मेरो विचारमा अभिनय असुरक्षित पेसा हो– नेपालमा मात्र होइन, संसारभरि। यसमा लागेका सबै व्यक्तिले जीविकोपार्जन गर्न सक्छन् भन्ने ग्यारेन्टी छैन।
कुनै व्यक्तिलाई अभिनय आउँछ भन्नेबित्तिकै त्यो सफल हुन्छ भन्ने छैन। किनकि यो सबैभन्दा लोकतान्त्रिक पेसामध्येको हो। कुनै पात्र उति राम्रो अभिनय गर्न जान्दैन तर, पर्दामा दर्शकले रुचाइदिए भने ऊ अघि बढ्न सक्छ।
कोही ६ वर्ष तालिम गरेर आएको व्यक्ति अभिनयमा कुशल छ भने पनि दर्शकले नरुचाउन सक्छन्। ऊ हाँसेको मन नपराउन सक्छ। नाचेको मन नपर्न सक्छ।
अरु पेसा जस्तो मसँग डिग्री छ, कम्तीमा ३० वर्ष जागिर खान सक्छु भन्ने पेसा होइन यो। म यो क्षेत्रमा रहेको ३२ वर्ष हुन लागिसक्यो। सुरुमा प्रत्येक ६ महिनापछि अर्को ६ महिना टिक्न सक्छु कि सक्दिनँ भन्ने लागिरहन्थ्यो।
पहिलो फिल्म सफल भयो भन्दैमा कलाकार सफल हुन्छ भन्ने हुँदैन। यो साल सफल भए अर्को साल सफल नहुन पनि सकिन्छ।
हाम्रैमा कति कलाकार नाम कमाएर पछि विस्थापित भएका छन्। तर केही व्यक्ति सफल भएरै अहिलेको माहोल बनेको छ। पहिले यस्तो थिएन, अहिले जो जो सफलताको निश्चित विन्दुमा पुग्न सक्छन्, उनीहरूले निरन्तरता दिन सके यही क्षेत्रबाटै जीवन चलाउन सकिने वातावरण तयार भएको छ।
पहिले कलाकारको जीवनस्तर मात्र होइन, चलचित्र पनि स्तरीय थिएनन्। हामीले मनोरञ्जनका लागि मात्र चलचित्र बनाउँथ्यौं। फर्मुलाभन्दा बाहिरका, समाजको यथार्थ चित्रण गर्ने खालका फिल्म नगन्य हुन्थे। मलाई नै मेरा दुई तीनवटाभन्दा बढी फिल्म चित्तबुझ्दा लाग्दैनन्।
तर, त्यसो भन्नुको अर्थ मलाई मेरा फिल्म मन पर्दैनन् भन्ने होइन।
उति बेला मेरा चलचित्र अत्यधिक रुचाइन्थे। म अत्यन्तै व्यस्त थिएँ र मेरा चलचित्रबाट दर्शकले प्रशस्त मनोरञ्जन लिए।
समग्रमा हेर्दा, विश्वमा बनिरहेका बनिरहेका चलचित्रका मापदण्डअनुसार हाम्रा चलचित्र खरो उत्रन सकेका छैनन्। जबसम्म त्यो हिसाबमा चलचित्र बन्दैनन्, तबसम्म आफूले गरेको काममा शतप्रतिशत सन्तुष्ट हुने ठाउँ छैन।
हाम्रोमा एउटा चलचित्र हिट हुनेबित्तिकै संसारमा सबैभन्दा राम्रो चलचित्र मेरै हो भन्ने परिवेश छ। त्यस्तोमा मलाई आफ्नै चलचित्रको समालोचना गर्दा अनौठो लाग्न सक्छ ।
अहिलेसम्म बनेका नेपाली चलचित्रको कुरा गर्दा पोख्त सिने दर्शक वा समीक्षकले एकाधमा बाहेक चित्त बुझाउने बाटो छैन। त्यो हाम्रो कमजोरी हो। तर, त्यसको मतलब हाम्रा चलचित्रले हाम्रो बजारको मागलाई परिपूर्ति गरेका छैनन् भन्ने होइन। दर्शकले नरुचाएको पनि होइन। विश्वबजारको तुलनामा कमजोर भएको मात्र हो।
नेपाली फिल्मको कमजोर पक्ष भनेको स्क्रिप्ट र निर्देशक हुन्। निर्देशक नै हो, जसले सिनेमालाई हाँक्छ।
चलचित्रमा पर्याप्त लगानी पनि महत्त्वपूर्ण पाटो हो। निर्देशक सिर्जनशील छ, विधालाई राम्रोसँग बुझेको छ भने चलचित्र जुनसुकै बजेटले पनि बन्न सक्छ।
घर बनाएजस्तै हो चलचित्र भनेको। कसैले सीमित बजेटमा पनि चिटिक्कको घर बनाउँछन्, कसैले ठूलो लगानीमा दरबार नै बनाउँछन्। कतिले करोडौं खर्चेर पनि चारवटा भित्ता र छानो भएको संरचना मात्र बनाउन सक्छन्।
सिर्जना, प्रस्तुति, कथावस्तु राम्रो हुने हो भने निर्देशकले सीमित बजेटमा पनि राम्रो काम गर्न सक्छ। त्यो हाम्रोमा कमजोरी छ। हामीकहाँ विषयवस्तुलाई प्रभावकारी रुपमा पस्कन सक्ने क्षमता कम छ।
कागजमा हामी एकदमै राम्रो कथा लेख्छौं। तर सिनेमा भनेको कागजमा कलमले लेख्ने होइन। सिनेमा भनेको क्यामेराले लेख्ने हो। हो, त्यही क्यामेराले खिच्ने बेलामा हामी चुक्छौं।
कलमले लेखुन्जेल हाम्रो कथावस्तु राम्रो हुन्छ, उत्पातै राम्रो फिल्म बन्ला जस्तो। तर त्यसलाई क्यामेरामा उतार्न हामीले ठूलो मेहनत गर्नुपर्छ। सिर्जनशीलता चाहिन्छ। अधिकांश अवसरमा हामी त्यहीं चुक्छौं।
जेजस्तो अवस्था भए पनि म जहिलेसम्म सक्छु त्यो बेलासम्म चलचित्र क्षेत्रमै हुन्छु। सामाजिक काममै हुन्छु। मलाई राजेश हमाल बनाएको नेपाली फिल्म क्षेत्रले नै हो। हाम्रो समाजले हो। म यहीं हुन्छु।
म अत्यधिक फिल्म गरिरहेका बेलासम्म म कति हिट छु, दर्शकबाट बेहिसाब माया पाइरहेको छु भन्ने नै थाहा थिएन। हरेक दिन सुटिङमा व्यस्त हुन्थें। मैले काम गरेका फिल्म र मेराबारे बजारमा भइरहेका चर्चा र प्रतिक्रियाको जानकारी हुँदैनथ्यो।
फिल्ममा सक्रिय हुन छाडेपछि विभिन्न कार्यक्रम र सामाजिक कार्यका लागि देशका विभिन्न स्थानमा पुग्दा पो थाहा पाएँ– म निकै चर्चित भएको रहेछु। त्यसैले म सकुन्जेल अभिनय र सामाजिक कार्यमै सक्रिय रहन्छु।
फेसनको प्रभाव
सरसर्ती हेर्ने हो भने नेपालमा फेसनको प्रभाव दक्षिण एसियाका अन्य देशमा भन्दा धेरै छ। नेपाल जति ‘फेसन कन्ससनेस’ न भारतमा छ, न बंगलादेश वा श्रीलंकामा नै। अरु देशको कुनै एउटा क्षेत्रमा वा वर्ग विशेषमा होला। तर, आम समुदायमा छैन।
हामी नेपालका गाउँमा, डाँडाकाँडामा पनि युवाहरु फेसनेबल भएर हिँडेका देख्छौं। भारतका ग्रामीण इलाकामा त्यस्तो छैन। बांग्लादेशमा पनि मौलिक पहिरन कै बोलवाला छ। त्यसैले नेपालीहरु फेसनमा निकै अघि छन् जस्तो लाग्छ। यहाँको जीवनस्तर उकास्ने हो भने झन् कस्तो होला?
९० को दशकसम्म त्यस्तो थिएन गाउँतिर। पछिल्लो १० वर्ष यता फेसनप्रतिको चेतनास्तर बढेको देखिन्छ। नेपालको सामाजिक परिवेश परिवर्तन भएको धेरै भएको छैन। ३० वर्षअघिसम्म ९५ प्रतिशत नेपालीको जीवनशैली र ३०० वर्षअघिकैै हाराहारीमा थियो। छोटो समयमा ठूलो फड्को मारेका छौं हामीले।
कुटो–कोदालो, पँधेरो–गोठको परम्परागत प्रचलन हराउने अवस्थामा छ। वा, रहे पनि त्यसको स्वरुपमा व्यापक परिवर्तन आएको छ। सुरुसुरुको फिल्ममा सामाजिक परिवेशअनुसारको पहिरन लगाइन्थ्यो। गाउँले पात्रको भूमिकामा उत्रिँदा त्यही खालको फेसन हुन्थ्यो। त्यो पात्र र फेसनमा दर्शकले आफ्नै प्रतिबिम्ब देख्थे। तर, अहिले त्यसमा ठूलो परिवर्तन आएको छ।
लोकदोहोरी नै हेरौं। गीतको मर्म र भाका उस्तै छ तर, पहिरन असाध्यै फेसनेवल छ। लोकदोहोरीमा एकसे एक फेसनेबल केटाकेटी देखिन्छन्। यसरी हेर्दा समयसँगै फिल्ममा फेसनको प्रभाव पनि फेरिएको छ। समयको गतिसँगै यो परिवर्तन जारी रहन्छ।
(अभिनेता राजेश हमालसँग तीर्थराज बस्नेतले गरेकाे कुराकानीमा आधारित)