काठमाडौं- गएकाे शनिबार भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भए। उता वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष भएका शेखर गोल्छालाई आफ्नो कार्यकालभरि ढकालको जित फलामको चिउरा चपाएसरी हुनेछ।
चुनाव अवधिभर खुलेआम किशोरकुमार प्रधानको प्यानललाई जिताउन हिँडेका गोल्छालाई ढकालले वरिष्ठ उपाध्यक्ष जित्दा आगामी दिनमा कुनै पनि निर्णय सर्वसम्मत गराउन असहज हुने देखिएको छ।
१० वर्षे रणनीतिक कार्यायोजना कोरेका गोल्छाले पद तथा गोपनियताको शपथ ग्रहण गरेकै दिन बसेको पहिलो कार्यसमिति बैठकमा विवाद भएको थियो। सुरुमा कोषाध्यक्ष कसलाई ल्याउने भन्ने विषयमा विवाद भयो भने पछि विशिष्ट सदस्य नियुक्ति र मानार्थ सदस्य नियुक्तिका विषयमा पनि विवाद भयो।
शपथ ग्रहण गरेकै दिन उनले आफू अनुकूल विशिष्ट सदस्यमा पशुपति मुरारकालाई र मानार्थ सदस्यमा किशोर प्रधानलाई नियुक्त गरे। गोल्छाले मानार्थ सदस्यको रुपमा प्रधानलाई नियुक्त गरेर प्रधानप्रति श्रद्धा प्रकट गरेको पूर्व अध्यक्ष कुशकुमार जोशीको बुझाइ छ।
उनका अनुसार महासंघमा निवर्तमानअघिको अध्यक्ष नै विशिष्ट सदस्य नियुक्त गर्ने प्रचलन छ। विधानतः पूर्व अध्यक्ष वा बाहिरबाट अर्थविद् जो ल्याए पनि हुने थियो तर महासंघको परम्परा भने निवर्तमानभन्दा अगाडिको अध्यक्षलाई नै विशिष्ट सदस्यको रुपमा नियुक्त गर्ने छ। तर यो परम्परा प्रदीपजंग पाण्डे अध्यक्ष हुँदा टुटेको थियो। पाण्डेले विशिष्ट सदस्यमा चन्डीराज ढकाल र कुशकुमार जोशीलाई नियुक्त गरेका थिए।
जोशीले विशिष्ट सदस्य नबस्ने भनेपछि महासंघमा ढकालको 'हालीमुहाली' सुरु भएको थियो। यता नयाँ नेतृत्वले पद तथा गोपनीयताको शपथ लिएकै दिन कोषाध्यक्षको पनि निर्णय गर्न लागेका गोल्छालाई नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले रोक्दै आफ्नो तर्फबाट कोषाध्यक्षको उमेदवारको रुपमा डिबी बस्नेतलाई अगाडि सारे।
गोल्छाले पनि आफूलाई सहज हुनेगरी सुकुन्तलाल हिराचन अगाडि सारे। कोषाध्यक्षमा पनि चुनाव भयो र कार्यसमितिदेखि पदाधिकारीसम्म गोल्छाकै बहुमत भएकोले हिराचन कोषाध्यक्षमा निर्वाचित भए। सर्वसम्मतबाटै हुन सक्ने कोषाध्यक्ष चयन पनि निर्वाचनमा गएपछि यसले अध्यक्ष र नवनिर्वाचित वरिष्ठ उपाध्यक्षबीच तिक्तता सुरु गर्ने संकेत स्पष्ट रुपमा देखिएको छ।
उद्योग व्यवसायमा कोरोनाको चुनौती
निजी क्षेत्रद्वारा सञ्चालित उद्योगधन्दा, कलकारखाना र व्यापार व्यवसाय यतिबेला जीर्ण अवस्थामा पुगिसकेका छन्। यो बेला निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनु भनेको ‘भूतले खाना खाने बेलामा पुग्नु’ जत्तिकै भएको जानकारही बताउँछन्।
तर महासंघका पूर्वअध्यक्षहरु भने यो बेला गोल्छाको लागि काम गरेर देखाउने अति उत्तम समय भएको तर्क गर्छन्। पूर्वअध्यक्ष कुशकुमार जोशी यो समय शेखर गोल्छाको लागि सवैभन्दा उत्तम र आफूलाई सही नेतृत्व भएको सावित गर्ने ‘स्वर्णीम अवसर’ भएको बताउँछन्।
उनले आफू अध्यक्ष भएको समय सम्झँदै भने,‘मैले महासंघको अध्यक्ष पद सम्हालेको बेलामा राजनीतिक अस्थिरता थियो, बन्द हड्तालले चरम सीमा नाघेको थियो। चन्दा माग्ने, धम्क्याउने संगठनहरु धेरै थिए तर अहिले भनेको राजनीतिक स्थिरता आएको छ।विस्तारै अर्थतन्त्रले एउटा लय समात्न थालिसकेको थियो तर कोरोनाका कारण भने भताभुङ्ग भएको छ। यसबेला सही काम गर्न सकेमा शेखर ‘हिरो’ हुन्छ तर त्यसका लागि टिमले भने पूर्ण रुपमा साथ दिन जरुरी हुन्छ।’
राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार नेपालमा कोरोनाका कारण झन्डै साढे १५ लाख मानिसले रोजगारी गुमाएका छन्, २५ प्रतिशत मानिस गरिबीमा धकेलिदैछन् भने अर्थतन्त्रमा गत असारसम्ममा करिब दुई खर्ब रुपैयाँ बराबरको नोक्सानी भइसकेको छ।
यस्तो अवस्थामा नेपालमा रोजगारी सिर्जना गर्नका लागि उद्योगधन्दा र कलकारखानामा लगानी बढाउनु पर्नेछ। त्यसको लागि वातावरण बनाउने, उद्योगी व्यवसायीको समग्र समस्या सरकारसँग बसेर सल्टाउने, नेपालमा बाह्य लगानी बढाउनका लागि विभिन्न सरोकारवालासँग बसेर काम गरी उद्योगी व्यवसायीको ‘मियो’ बन्ने अभिभारा अहिलेको नेतृत्वको छ।
अहिले सरकारबाट व्यवसायीहरुले आफू अनुकूल सेवा सुविधा पाउनका लागि लविङ गर्नुपर्ने बेला आएको छ। सरकारले कोरोनाका कारण आहतमा परेकाे निजी क्षेत्रलाई कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत पनि राहत दिएको छैन। यो बेला महासंघको नेतृत्व सवल सक्षम र एकताबद्ध भएर सरकारसँग आफ्ना मागहरु प्रस्तुत गर्ने र निजी क्षेत्र अनुकूल नीति नियम बनाउनका लागि लविङ गर्ने समय भएको जोशीको भनाइ छ।
यतिबेला उद्योग पर्यटन, व्यावसायिक क्षेत्रले बाँच्नका लागि संघर्ष गरिरहेका छन्। त्यसैले निजी क्षेत्रलाई बचाउन महासंघ नेतृत्वको ठूलो भूमिका हुनेछ। त्यसैले एकताबद्ध भई काम गरेर देखाउने बेला आएको पूर्वअध्यक्ष जोशी बताउँछन्।
हुन त गोल्छाले शपथ ग्रहण गरेकै दिन महासंघलाई एक ढिक्का बनाएर लैजाने र आफूले बनाएको १० वर्षे रणनीतिक योजना कार्यसमितिमा लगेर पास गराई अगाडि बढ्ने बताइसकेका छन्। एकातिर गोल्छाको १० वर्षे रणनीति छ भने अर्कोतर्फ ढकालको २५ वर्षे रणनीति छ।
कार्यसमितिले कसको रणनीतिलाई पास गरेर लागू गर्ने हो, त्यो केही समयमै थाहा भइहाल्ला।