काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रीपरिषद छिट्टै विस्तार हुने बताएका छन्।
पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागि परेको दाबीसमेत गरेका हुन्।
काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विभिन्न राजनीतिक दलहरुको वैधानिकताले गर्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको स्पष्ट पारेका हुन्। नेता लेखकले भने, ‘मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा यो सरकारमा संलग्न हुने सबै राजनीतिक दलका मुख्य नेताहरुबीचमा संवाद भइरहेको छ। छलफल भइरहेको छ। र चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ भन्ने कुरा आग्रह गर्न चाहन्छु। ढिलो भएको छ। चाँडै गर्नुपर्छ। त्यसमा प्रधानमन्त्रीजी गम्भीर हुनुहुन्छ।’
नेता लेखकले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको मितिमा सम्पन्न हुने दाबीसमेत गरेका छन्। उनले दसैंअघि नै देशभरका सबै वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने गरी काम भइरहेको पनि जानकारी दिए।
नेता लेखकले भने, ‘दसैं अघि नै ७७ वटै जिल्लामा वडा र पालिका अधिवेशन भइ सक्नेछन्। अधिकांश वडा र पालिकाको अधिवेशनहरु सम्पन्न भईसकेका छन्। त्यसो भएको हुनाले संक्षिप्तमा भन्नुपर्दा नेपाली काँग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ। हामी समयमै महाधिवेशन गर्ने अठोटका साथ लागि परेका छौं।’
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर ९–१३ गते काठमाडौंमा हुँदैछ।