काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय स्तरमा अस्पतालको निर्माण कार्य सुरु गर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५–१०–१५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुरुप अस्पताल निर्माणको लागि बजेट पठाइसकेको भन्दै सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयले मंसिर १५ भित्रमा काम सुरु गर्न निर्देशन दिएको हो।
अस्पतालका लागि जग्गा प्राप्ति नगरेका निकायले सम्बन्धित निकायसँग समन्वय गरी अबिलम्ब जग्गा प्राप्त गरी भवन निर्माण प्रकृया अगाडि बढाउन र भवन प्राप्त भएकाले मंसिर १५ भित्र भवन शिलान्यास गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जानकारी दिन मन्त्रालयले अनुरोध गरेको छ।
गत भदौ १३ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच शैय्याको अस्पताल बनाउने निर्णय गरेका थिए।