आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • ३८ क्‍विन्टल सुन तस्करी मुद्दा: प्रतिवादीका तर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीको वकालतनामा

३८ क्‍विन्टल सुन तस्करी मुद्दा: प्रतिवादीका तर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीको वकालतनामा

सोमबारबाटै प्रतिवादीका कानुन व्यवसायीको बहस सुरु भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए ।
 |  सोमबार, असोज ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ११, २०७८

विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण तथा करिब ३८ क्‍विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा सोमबार सरकारी वकिलको बहस सकिएको छ। सोमबारबाटै प्रतिवादीका कानुन व्यवसायीको बहस सुरु भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए ।

National life

प्रतिवादीका पक्षमा बहस गर्न ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालतनामा दर्ता गराएको धमलाले बताए। सोमबार पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाको पक्षमा बहस भएको छ। उनको प्रतिरक्षामा अधिवक्ता भानुभक्त निरौलाले बहस गरेका हुन्। बहसका क्रममा उनले सुन तस्करी र सनम हत्यामा पूर्वडीआईजी निरौलाको संलग्‍नता नरहेको दाबी गरेका छन्। 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करीमा सहयोग गरेको आरोप लागेका पूर्वडीआईजीले मुद्दामा सफाइ पाउनुपर्ने जिकिर अधिवक्ता निरौलाको छ। 

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्‍चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दर्ता गरेको थियो। १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ ।  

मोरङ उर्लाबारीका गोरे भनिने चुँडामणि उप्रेती मुख्य अभियुक्त रहेको मुद्दामा सनमको हत्या गरिएको घटनाबाहेक सुन तस्करीसम्बन्धी प्रमाण मजबुत नभएको बताइएको छ। प्रतिवादीले बयानका क्रममा स्वीकार गरेको विषयलाई सुन तस्करीको मुख्य प्रमाणका रूपमा पेस गर्न खोजिएको छ। 

Shivam cement

सुरुमा ६३ जना मात्रै प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन्। प्रतिवादीमध्ये ५५ जना पक्राउ परेको र २२ जना अझैसम्म फरार रहेको अदालतका सूचना अधिकारी धमलाले बताए। 

मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायतका प्रतिवादी छन्। खत्री र राउत अहिले पनि थुनामै छन्। अरु पूर्व एवं बहालवाला प्रहरी भने उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्। 

सरकारी वकिलले आइतबार र सोमबार बहस गरेका थिए। वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले बहस गरेका छन्।


प्रकाशित: Sep 27, 2021| 19:54 सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।