काठमाडौं– स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्यामा ७२.७ प्रतिशतले कमी आएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्यानमा दर्ता हुनेको संख्या एक लाख ९५ हजार ५४२ छ।
गत आर्थिक वर्षको सोही अवधिमा प्यानमा दर्ता हुनेको संख्या सात लाख १५ हजार ९२३ रहेको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार कोरोनाका कारण आर्थिक गतिविधिमा कमी आएसँगै प्यानमा दर्ता हुनेहरुको संख्यामा पनि कमी आएको हो । यो अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेहरुको सख्या ७८.३ प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पीप्यानमा दर्ता हुनेको संंख्या एक लाख ३३ हजार ८४० जना छन्। गत आर्थिक वर्षको सोही अवधिमा पीप्यान लिनेको सख्या ६ लाख १५ हजार ८५१ जना थियो।
यो अवधिमा व्यावसायिक स्थायी लेखा नम्बर (विप्यान) लिनेहरूको संख्यामा पनि ३८.५ प्रतिशतले कमी आएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा विप्यान लिनेहरुको संख्या ६० हजार ७२४ छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो विप्यान लिनेको संख्या ९८ हजार ७६० थियो।
त्यस्तै करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर (डब्लूप्यान) २५.५५ प्रतिशतले कमी आई ९७८ ले मात्र लिएका छन्। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३१२ ले यस्तो डब्ल्यूप्यान लिएका थिए।
यस अवधिमा मुअकर (भ्याट) मा दर्ताहरुको संख्या ५१.४ र अन्तःशुल्क ५६.३ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ।