काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी छन् ।
नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले नेकपाका दुई अध्यक्ष दाहाल र ओलीसँग भेटवार्ता गरेकी हुन्। भेटमा नेकपाको बैठक राख्ने कि स्थगित गर्ने भन्ने विषयमा छलफल भएको बताइएकाे छ।
प्रधानमन्त्री ओली पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल गर्न राति शीतल निवास पुगेका थिए। तर, यो भेटलाई गोप्य राखिएको छ।
सुरक्षा स्रोतका अनुसार राति ९ बजे राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्। तर, उनको सचिवालयले भने भेटवार्ताका विषयमा केही खुलाएको छैन।
त्यसअघि राष्ट्रपतिले नेकपाको विवादका विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेकी थिइन्। दाहालले करिब २ घण्टा राष्ट्रपतिसँग छलफल गरेका थिए।
भेटमा राष्ट्रपति भण्डारीले पार्टी दुवै अध्यक्षबीचकाे तिक्त सम्बन्ध सुधारेर जान सुझाव दिएकी थिइन्।
सत्तारुढ दल नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला राष्ट्रपतिले सक्रियता देखाएकी हुन्।
यसअघि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली र महासचिव विष्णु पौडेल तथा उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर नेकपाको विवादप्रति चासो राखेकी थिइन्।
नेकपाभित्र विवाद झाँगिँदै जाँदा बुधबारका लागि तय भएको बैठक अन्यौलमा परेको छ। ओली बैठक रोक्ने कसरतमा छन् भने दाहाल बैठक कुनै हालतमा राख्नु पर्ने अडानमा छन् ।
महासचिव विष्णु पौडेलले मंगललबार नै खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई बैठक स्थगित गरेर ओलीसँग संवादमा बस्न आग्रह गरेका थिए।
बहुमत सदस्यहरु भने बुधबारका लागि बोलाइएको बैठक कुनै पनि हालतमा रोक्न नहुने अडानमा रहेका छन्।