काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलहरूको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठनको तयारी भइरहेको बताएका छन्।
त्रिभुवन विमानस्थलभित्र निर्मित सुरक्षा गार्ड भवनको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले ‘विमानस्थल सुरक्षा प्रहरी’ भनेर छुट्टै युनिट बनाउन गृह, अर्थ, रक्षा र पर्यटन मन्त्रालयबीच छलफल चलिरहेको बताएका हुन्।
विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै युनिट बनाउनेबारे छलफल चलाइएको मन्त्री भट्टराईको भनाइ थियो।
लागू औषधको ओसारपसार, अन्तर्राष्ट्रिय आपरिक संगठनमा आवद्ध व्यक्तिको ओहोरदोहोरजस्ता विषय उठ्ने गरेकाले यस्ता काम हुन नदिन विमानस्थलको सुरक्षा मजबुत हुनुपर्ने भट्टराईको दाबी थियो।
मुलुकमा एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीले सुरक्षाको जिम्मेवारी पाएको छ। नेपाली सेनाले बाहिरी घेराको सुरक्षाको काम गर्दै आएको छ।