बेल्जियमको हालेमा आइतबार उडानमा प्रतिस्पार्धा गर्ने परेवाको लिलामी हुँदै थियो। लिलामीमा दुई वर्षको पोथी परेवा ‘न्यू किम’ पनि राखिएको थियो।
युरोपमा कैयौ रेस जितिससेको यो परेवाको सुरुआती बोली २०० युरो राखिए पनि अन्त्यसम्ममा ‘न्यू किम’ को दामले आकाश छुन पुग्यो। दुई चिनियाँ धनाढ्य एकअर्कासँग यसरी प्रतिस्पर्धामा उत्रिए कि ‘न्यू किम’ विश्वकै सबैभन्दा महंगो परेवा सावित भयो।
समाचार एजेन्सी रोयटर्सका अनुसार १६ लाख युरो अर्थात १८ लाख ९० हजार डलर (करिब २२ करोड ५३ लाख रुपैयाँ)* तिरेर ‘सुपर डुपर’ नाम दिइएका चिनियाँ नागरिकले उक्त परेवा हात पारी छाडे।
यो परेवा खरिद गर्ने धनाढ्यको पहिचान सार्वजनिक गरिएको छैन। तर, ‘सुपर डुपर’ले नै अघिल्लो वर्ष बेल्जियममै अर्मान्डो नामको नर परेवा १२.५२ डलरमा किनेको बताइएको छ।
युरोपमा परेवा दौड निकै पुरानो खेल मानिन्छ। प्रत्येक वर्ष तमाम देशका परेवाबाज पुरस्कारको ठूलो रकमका लागि यो दौडमा सामेल हुन्छन्।
परेवा दौडको चलन चीनमा पनि सुरु भएको छ। अब अर्मान्डो र न्यू किम एउटै मालिकसँग भएपछि यो जोडीले कैयन ‘सुपरफिट’ परेवार पैदा गर्ने ठानिएको छ। चिनियाँ ब्रिडरले यीनका बच्चाबाट पैसा कमाउने छन्। मादा परेवाले १० वर्षको उमेरसम्म प्रजनन् गर्न सक्छ।
परेवाका पूर्व मालिक ७६ वर्षीय गास्तोन फान डे वोवरलाई सुरुमा त लिलामीको परिणामप्रति विश्वासै लागेन। लामो समयदेखि दौड लगाउने परेवाको ब्रिडिङ गरिरहेका वोवरका लागि यो सपना जस्तै थियो।
हुन त वोवर परेवाबाजीको खेलमा चर्चित नाम हो। अहिलेसम्म ४४५ परेवा बिक्री गरिसकेका उनले ६० लाख युरोभन्दा धेरै रकम कमाइसकेका छन्।
बेल्जियममा परेको लिलामी गर्ने अक्सन हाउस पिपाका अनुसार देशमा १८ हजारभन्दा धेरै मानिसहरुले परेवाको ब्रिडिङ गर्छन्।
-एएएफपी/रोयटर्स
*सच्याइएको