नयाँदिल्ली – बिहारको राजधानी पटनामा भएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को बैठकमा नीतीशकुमार विधान मण्डलको नेता चयन भएका छन्।
योसँगै उनी अब बिहारको मुख्यमन्त्री बन्ने पक्का भएको छ। एनडीएका विधायकले आफ्न नेता चयन गरेका हुन्।
यस्तै सुशीलकुमार मोदी उपमुख्यमन्त्री बन्ने सम्भावना छ। उनी विधान मण्डलको उपनेतामा चयन भएका छन्।
नीतीशकुमारले सोमबार सातौंपटक मुख्यमन्त्री पदको शपथ लिनेछन् । उनी पहिलोपटक २००५ मा मुख्यमन्त्री भएका थिए। तर त्यति बेला उनले धेरै समय सरकार चलाउन पाएका थिएनन्। त्यसपछि उनले भाजपासँग मिलेर सरकारको नेतृत्व गर्दै आएका छन्।
बिहारमा एनडीएमा नीतीशकुमारको पार्टी जदयू, भाजपा, जितनराम माझीको पार्टी हम र मुकेश साहनीको पार्टी वीआईपी संलग्न छन्।
१० नोभेम्बरमा सार्वजनिक विधानसभाको चुनावी परिणामअनुसार राष्ट्रिय जनता दलले ७५ सिटमा जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ। यस्तै भाजपाले ७४ सिटमा जितेको छ भने नीतीशकुमारको पार्टी जदयूले ४३ सिटमा जित हासिल गरेको छ। बीबीसी