काठमाडौं– स्वीस सरकारले ९० करोड ८२ लाख स्वीस् फ्र्यांक अर्थात् एक अर्ब २६ करोड रुपैयाँ बराबरको प्राविधिक सहायता प्रदान गर्ने भएको छ।
नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजावेथ भोन क्यापेलर र अर्थ मन्त्रालयलका सहसचिव श्रीकृष्ण नेपालले शुक्रबार प्राविधिक सहायता परिचालन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।
उक्त प्राविधिक सहायता स्वीस सरकारले ‘मोटोरल लोकलः रोड ब्रिज प्रोग्राम फेज फोर’को लागि दिएको हो।
सम्झौतामा हस्ताक्षर कार्यक्रमसँगै अर्थमन्त्री विष्णु पौडेल र राजदूत क्यापेलरबीच शिष्टाचार भेटघाटसमेत भएको थियो।
भेटमा अर्थमन्त्री पौडेलले नेपाल र स्वीट्जरल्याण्डबीच सधंै सुखद् र असल सम्बन्ध रहेको र सम्बन्धलाई आपसी विश्वास तथा सहकार्यको माध्यमबाट अझ गहिरो बनाउने आफ्नो प्राथमिकता रहेको विचार व्यक्त गरे।
अर्थमन्त्री पौडेलले कोभिड–१९ले सिर्जना गरेको चुनौती सामना गर्न विश्वव्यापी सहकार्य र एकता आवश्यक हुनुको साथै स्वीस सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर सहयोगको लागि धन्यवादसमेत दिएका छन्।
राजदूत क्यापेलरले देशको स्थायित्व र विकासका लागि अर्थमन्त्रीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विगत १० वर्षमा नेपालमा धेरै परिवर्तन संस्थागत भएको विषय औंल्याइन्।
उनले नेपाल सरकारको प्राथमिकता अनुरुपका विकास क्रियाकलापमा स्वीस सरकारको सहयोग एवं साथ रहने उल्लेख गरेकी थिइन।