काठमाडौं– चालू आर्थिक वर्षको पहिलो चार महिनामा हिमालयन बैंकको नाफामा गत वर्षको पहिलो त्रैमासमा भन्दा ३२ करोड ८३ लाख रुपैयाँ अर्थात् ४७.२९ प्रतिशतले गिरावट आएको छ।
बैंकले पहिलो त्रैमासमा ३६ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले ९ करोड ४२ लाख रुपैयाँ खुदनाफा कमाएको थियो।
बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी पनि घटेका कारण नाफामा गिरावट आएको हो।
बैंकको वितरणयोग्य नाफा ६२ लाख ६२ हजार रुपैयाँ मात्र छ। पहिलो त्रैमासको नाफा बैंकको इतिहासमा नै सबैभन्दा कम हो। पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३७ करोड ९९ लाख रुपैयाँ घटेर ९३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। यसको प्रत्यक्ष असर नाफामा देखिएको हो।
खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३२ रुपैयाँ ५९ पैसा रहेको बैंकको चालू आर्थिक वर्षमा घटेर १५ रुपैयाँ ६२ पैसामा सीमित भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ५९ पैसा छ। बैंकको आधारदर ७.१६ प्रतिशत र स्प्रेडदर ४.७८ प्रतिशतमा झरेको छ।
बैंकको चुक्तापुँजी ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ९७ लाख रुपैयाँ जम्मा भएको छ। हिमालयन बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा सापटी ९९ अर्ब ३८ करोड रुपैयाँ रहेको बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ।