काठमाडौ- ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४०.५९ प्रतिशतले नाफा बढाएर एक अर्ब पाँच करोड रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा ७५ करोड ३१ लाख रुपैयाँ थियो।
बैंकले बिहीबार प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरणलाई केलाउनने हो भने बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको देखिन्छ।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ६५.७८ प्रतिशत बढेर १२ अर्ब ५९ करोड पुगेको छ। सञ्चालन नाफा ४१.५३ प्रतिशतले बढेर एक अर्ब ४७ करोड पुगेको बैंकले जनाएको छ।
त्यस्तै बैंकको प्रति सेयर आम्दानी २२.३२ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५८.५९ रुपैयाँ रहेको छ।
नाफा बढेसँगै बैंकको खराब कर्जा पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको निष्कृय कर्जा ०.८५ रहेकोमा अहिले बढेर १.८३ प्रतिशत पुगेको बैंकले जनाएको छ।
बैंकबाट गएका ऋणहरु बैंकले ताकेता गरि उठाउन नसक्दा खराब कर्जा बढेको हो। नेपाल राष्ट्र बैंकले गत वर्षको पुसयता गएका कुनैपनि कर्जालाई खराब कर्जामा वर्गिकरण नगर्न निर्देशन दिएको थियो।
अहिले बैंकसँग बढेको खराब कर्जा गत वर्षको पुस अगाडीकै हो।
ग्लोबल आइएमईले अघिल्लो वर्षको नाफाबाट भने १४ प्रतिशत बोनस सेयर र दुई प्रतिशत कर प्रयोजनार्थ लाभांसको घोषणा गरिसकेको छ।
बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड छ। ग्लोबल आइएमईले बैंक पुँजीका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हो।
हाल बैंकको जगेडा कोषमा करिब ९ अर्ब २७ करोड छ ।
बैंकले दुई खर्ब २४ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ।