सल्यान– विभिन्न सामुदायिक वनमा संकलन गरिएको सल्लाको खोटो तीन वर्ष बितिसक्दा पनि निकासी भएको छैन।
खोटो निकासी नहुँदा संकलनमा खटिएका मजुदर र ढुवानीकर्ताले ज्याला नपाएका हुन्।
खोटो निकासी नहुँदा वन समूहले पनि भुक्तानी पाएका छैनन्। शारदा नगरपालिका वडा नम्बर ४ सुनटाकुरास्थित सालघारी सामुदायिक वनको खोटो २०७४ सालदेखि मनकामना रोजिन एण्ड केमिकल्स उद्योग प्रा.लि.ले संकलन गरिरहेको छ। उक्त वनबाट ६३० बाकस खोटो संकलन भएको छ।
तर समयमै निकासी नगरेर कम्पनीले ढुवानीकर्ता र मजदुरको ज्याला रोकेको छ। मनकामना रोजिनले सालघारी वनमा खटिएका मजदुर र ढुवानीकर्ताको करिब १५ लाख भुक्तानी दिन बाँकी छ।
त्यस्तै शारदा नगरपालिका १३ स्यानीखालको घोरनेटी सामुदायिक वनबाट संकलन गरिएको ९०० बाकस खोटो पनि निकास भएको छैन।
घोरनेटी सामुदायिक वनका अध्यक्ष छविलाल रोकाले खोटो संकलनका लागि सम्झौता गरेको कम्पनीले निकासीमा चासो नदेखाएको बताए।
निकासी नहुँदा वनले पाउनुपर्ने रोयल्टी र मजदुरको ज्याला गरेर करिब २७ लाख भुक्तानी रोकिएको छ।
साजखर्क, बाघपाली, सरस्वती सामुदायिक वनलगायतमा संकलन भएको खोटो पनि निकासी हुन सकेको छैन।
विभिन्न सामुदायिक वनमा मनकामनाका साथै देउती बज्यै, गंगा रोजिन, गणपति, बगंलामुखीलगायत कम्पनीले खोटो संकलन र निकासी गर्दै आइरहेका छन्। सल्यानबाट वार्षिक करिब २५ लाख किलो खोटो निकासी हुने गर्दछ।
डिभिजन वन कार्यालय सल्यानले खोटो संकलन र निकासी गर्ने कम्पनीलाई पत्राचार गरे पनि जवाफ नआएको बताएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी मनोज शर्माले सम्झौता गरेका कम्पनीले निकासी नगरे अरु कम्पनीमार्फत् निकासी गरिने बताए।
उनले भने, ‘तोकिएको समयमा पनि सम्पर्कमा नआए अरु कम्पनीलाई निकासीको जिम्मा दिने तयारी छ।’