सल्यान– कोरोना भाइरस संक्रमणका कारण आलु आयात बन्द भएपछि सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ।
गत वर्ष किलोको १५ देखि २५ रुपैयाँसम्ममा बिक्री गरेका किसानले यो वर्ष ३५ देखि ५५ रुपैयाँ किलोमा बिक्री गरिरहेका छन्।
बजारमा आयातित आलु नभएपछि खरिदकर्ता बारीसम्मै पुगेर किन्न थालेका छन्।
जिल्लाभर यस वर्ष आलु उत्पादनसमेत बढेको छ। उन्नत जातको बिउ, आलु ब्लक कार्यक्रम, सिँचाइ सुविधालगायत कारणले उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।
कार्यालयका अनुसार यो वर्ष २४ हजार ११० मेट्रिक टन आलु उत्पादन भएको छ। गत आर्थिक वर्षमा २० हजार ६१७ मेट्रिक टन आलु उत्पादन भएको थियो।
कार्यालयले २ हजार ३७० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको जनाएको छ।