काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मन्त्रीपरिषद्लाई पूर्णता दिन देखिएको कानुनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ।
सोमबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिन छिटो पहल गर्ने निर्णय गरेको हो। बैठकमा सरकारको पूर्णताको लागि कानुन, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलपल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए।। सदन अदालतसँग जोडिएको कानुनी जटिलता हेरे लगत्तै मन्त्रीमण्डल बिस्तारमा छलफल अगाडि बढ्ने सदस्य गुरुङले बताए।
स्थायी कमिटीको बैठकले पार्टीको महाधिवेशन केन्द्रित केही क्रियाकलापको समय तालिका हेरफेर गर्ने निर्णय समेत गरेको छ। बैठकले सदस्यता नविकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गर्ने निर्णय गरेको छ भने स्थानीय स्तरमा हुने वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिका स्तरीय भेला गर्ने निर्णय गरेको छ।
स्थानीय स्तरको भेलाको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय सारिएको छैन। माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम गर्ने निर्णय गरेको छ।