काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका छन्।
गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई मतदान गर्नेे निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिएका हुन्।
महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र सक्षम हुनुपर्ने भन्दै उनले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको विकल्प नरहेकोसमेत बताए।
‘हामी उद्योगी व्यवसायीका लागि जतिबेला समस्या पर्दा पनि उपलब्ध भएर समस्या समाधानमा खटिने ढकालजस्तो व्यक्तिलाई धेरै समयपछि नेतृत्वमा पाउँदै छौं,’ उनले भने।
पोखरामा आयोजित चुनावी कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गत लमजुङ जिल्लाका अध्यक्ष राजेश थापा, बाग्लुङका अध्यक्ष युवराज राजभण्डारी, पर्वतका अध्यक्ष केदारनाथ शर्मा, स्याङजाका अध्यक्ष विक्रान्त श्रेष्ठ, पोखराका कार्यबाहक अध्यक्ष नारायण पराजुली, लेखनाथका अध्यक्ष बलराम ढकाल उपस्थित थिए।
त्यस्तै देवचुलीका अध्यक्ष रेशमराज सापकोटा, नवलपुरका अध्यक्ष डासुराम पोखरेल, शुक्लागण्डकीका अध्यक्ष हरिकुमार श्रेष्ठ, गल्याङका अध्यक्ष यज्ञप्रसाद अर्याल, गैडाकोटका अध्यक्ष अमृत भट्टचन, वालिङका अध्यक्ष शोभाकान्त पौडेल र म्याग्दीको प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष कुविरकुमार श्रेष्ठको उपस्थिति थियो।
साथै उक्त कार्यक्रममा अन्य प्रदेशका पनि २० भन्दा बढी जिल्ला तथा नगरका अध्यक्ष सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गरे।
ढकालले व्यवसायिक नेतृत्वको लविङ नपुग्दा व्यवसायमैत्री नीति नियम आउन नसकेको बताउँदै आफ्नो नेतृत्वमा व्यवसायीको हकहित र व्यवसायमैत्री नीति निर्माणमा पहल गर्ने बताए।
यसअघि कर्णाली र सदूरपश्चिम प्रदेशका ३० जिल्ला नगर अध्यक्षले पनि ढकाललाई सघाउने घोषणा गरिसकेका छन्।