काठमाडौं- एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घटेर ३३ करोड ४७ लाख ६४ हजार मात्र नाफा गरेको छ।
कोरोनाका कारण ऋणीहरुले समयमा नै ऋण तिर्न नसक्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको नाफा ह्वात्तै घटेको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६९ करोड ८ लाख ६८ हजार नाफा गरेको थियो।
नेपाल राष्ट्र बैंकले बैंकहरुले विभिन्न नाममा लिइने सेवा शुल्क घटाएपछि बैंकको सन्चालन आम्दानी पनि घटेको छ भने निक्षेपमा बढी र कर्जा प्रवाहमा कम ब्याज लिदा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ।
यस अवधिमा खुद ब्याज आम्दानी २८ प्रतिशत अर्थात् बैंकको खुद ब्याज १ अर्ब २ करोड ३२ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा भने बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४३ करोड २५ रुपैयाँ पुगेको थियो।
त्यसैगरी, सञ्चालन मुनाफा पनि आधाले घटेको छ। गत वर्षको पहिलो तीन महिनामा ९८ करोड ६९ लाख ९९ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा यो महिना घटेर ४७ करोड ८२ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ।
त्यस्तै बैंकको खराब कर्जा ०.२२ पुगेको छ। गत वर्षको सोही अवधिमा बैकको खराब कर्जा ०.१७ प्रतिशत मात्र थियो।
पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ छ।
बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड २ लाख रुपैयाँ बैंकको जगेडा कोषमा ८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ संचित छ।
त्यस्तै गत असोज मसान्तसम्ममा बैंकको निक्षेप १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।