काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
बुटवलमा आयोजित चुनावी अन्तरक्रियालाई सम्बोधन गर्दै आइतबार ढकालले व्यवसायीका हक तथा अधिकारका लागि सरकारसँग लविङ् गर्नका लागि आफूले उम्मेद्वारी दिएको बताएका हुन्।
वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफू त्यसका लागि हरहिसाबले सक्षम रहेको उनको दाबी थियो।
ढकालले महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागिपर्ने बताएका छन्।
कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्र ढकालको व्यवसाय ७७ जिल्लामा फैलिएकोले उनी केन्द्रमा मात्रै सिमित भएर बस्न नसक्ने धारणा राखे।
सोही कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरे।
उनले भने, ‘जिल्ला नगर परिषदलाई सशक्त बनाएर महासंघभित्र जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि मैंले उम्मेदवारी दिएको हुँ।’