काठमाडौं– विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले साविक विजेता मुम्बई इन्डियन्सलाई ५४ रनले हराएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार राति सम्पन्न खेलमा टस जितेर फिल्डिङ राजेको रोहित शर्माको टिमले पाएको १६६ को लक्ष्य पुरा गर्न नसकेपछि हार बेहोरेको हो।
मुम्बईले १८ ओभर एक बल खेल्दै पुरा विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो। त्यसक्रममा रोहित शर्माले ४३ र क्विन्टन डिककले २४ रनसँगै ५७ रनको साझेदारी गरे। उनीहरूपछि मैदान प्रवेश गरेका कुनै खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।
आरसीबीका हर्षल पटेलले चार विकेट लिए भने युजवेन्द्र चाहलले तीन विकेट गिराए। ग्लेन म्याक्बवेलले दुई र मोहम्मद सिरजले एक विकेट लिए।
पहिलो इनिङमा ब्याटिङ गर्दै आरसीबीले पुरा ओभर खेलेर ६ विकेटको क्षतिमा १६५ रन बनाएको थियो। यसका लागि कप्तान विराट कोहलीले ५१ रन बनाए तर अर्का ओपनर देवदत्त पडिक्कल शून्य रनमै आउट भए।
ग्लेन म्यासक्सवेलले ५६ र स्रिकर भरतले ३२ रनको योगदान दिए।
मुम्बईका जसप्रित बुमराहले तीन तथा ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चहरले समान १–१ विकेट लिए।
यो जितसँगै बैंगलोर १० अंकका साथ तेस्रो स्थानमा कायम छ। यता मुम्बई भने ८ अंकका साथ सातौं स्थानमा छ। अहिले आईपीएलमा ८ जितका साथ चेन्नई शीर्षस्थानमा छ भने दोस्रो स्थानको दिल्लीले ६ खेलमा जित निकालेको छ।
कोलकत्ता, पञ्जाब, राजस्जान र मुम्बईले समान ४–४ जित निकालेका छन्। उनीहरूको समान ८–८ अंक छ।
तालिकाको पुछारमा रहेको हैदराबादले एक जितसँगै २ अंक जोडेको छ।