शुक्रबार, भदौ ५, २०८३

एमाले बैठकमा घनश्याम भुसालको प्रश्न- के हो जबज?

अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरी अघि बढ्नै नसकिने तर्क गरेका हुन्।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’माथि प्रश्न उठाएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरी अघि बढ्नै नसकिने तर्क गरेका हुन्। 

 ‘जनताको बहुदलीय जनवाद (जबज) के हो? भन्ने कुरा हामीले परिभाषित गरेको छैनौँ अहिलेसम्म। आधिकारिक रुपले त्यसलाई सिद्धान्तको रुपमा परिभाषित गरेका छैनौं। व्याख्या गरेका छैनौँ,' ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आईतबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, 'यस विषयमा पनि हामी यसरी लामो समयसम्म जान सक्दैनौँ। जनताको बहुदलीय जनवादको यत्रो कुरा गरेका छौँ। तर त्यो के हो? भन्ने कुरा नै नभनेर पनि जान सकिन्छ? तसर्थ यो पनि हामीले परिपूर्ण गराऔं भन्ने मेरो कुरा हो।’

उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ हुन नहुने टिप्पणीसमेत गरेका थिए। ‘हामीले जनताको बहुदलीय जनवादको कुरा गरेका छौं। त्यो चाँहि हामी जस्ले जे भन्छ, त्यो आँखा नदेख्नेले हात्ति छामेजस्तो जसले जे बुझ्यो, त्यही भयो। त्यसलाई परिभाषित गरेका छैनौं,' उनले थपे, 'जनताको बहुदलीय जनवादले के गर्छ? साम्राज्यवादको विरोध गर्छ। जनताको समर्थन गर्छ, जनताको पक्ष लिन्छ। महिलाको पक्ष लिन्छ। युवाको पक्ष लिन्छ, यस्ता अनेकौँ कुरा भन्न सकिन्छ। तर स्वयम् जनताको बहुदलीय जनवाद के हो? भन्ने कुरा हामीले परिभाषित गरेका छैनौं।’

उपमहासचिव भुसालले कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खानु परेको उल्लेख गर्दै त्यसमा हामीभित्रै रहेको कमजोरीको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत रहेको बताए। त्यसैगरी उनले समाजवादमा जाने ठोस कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको स्पष्ट पारे। 

‘हामीले छलफल गर्‍यौं। खासगरी दस्तावेजहरुमा धेरै कुराहरु आवश्यक र उचित कुराहरु पनि छन्। तर त्यसमा चाँही नपुगेका केही आधारभूत कुराहरु पनि छन् भन्ने मेरो भनाइ हो। मलाई लागेको त्यो हो–जुन मैले बैठकमा राखेको छु,' भुसालले भने, 'स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा पनि राखेको छु। तीन वटा कुरामा खासगरी अहिले कम्युनिस्ट आन्दोलनले जुन धक्का खाएको छ। त्यो धक्का सानोतिनो छैन। यसले गर्दाखेरी यहाँ अझ जिम्मेवारपूर्वक त्यसलाई वस्तुगत रुपले त्यसको मूल्यांकन गरौं हामीले। यसमा हाम्रै पनि के–के कमी भएका छन्? त्यस बारेमा पनि हामीले नलुकाई दुनिँयाको सामुन्ने भन्न सक्नुपर्छ। क्रान्तिकारी पार्टीले, फेरि उठ्ने, मुलुकको जिम्मेवारी बोक्ने पार्टीले कुराहरु लुकाउनु हुँदैन भनेर एउटा मुख्यकुरा मैले राखेको।’

प्रकाशित: Sep 26, 2021| 21:19 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...