काठमाडौं– पूर्ण रुपमा अनलाइन कारोबार हुँदा ब्रोकरहरुको लागत कम हुने भन्दै ब्रोकर कमिसन घटाउन लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेका छन्।
धितोपत्र लगानीकर्ताहरुको छाता संगठन नेपाल इन्भेस्टर फोरमले बुधबार बोर्डलाई पत्र लेखी ब्रोकर कमिसन कम गर्न आग्रह गरेको हो।
फोरमले लेखेको पत्रमा भनिएको छ, ‘धितोपत्रको दोस्रो बजार हाल पूर्ण अनलाइन प्रविधिमा गइसकेकाले आम लगानीकर्ताहरुले तिर्नुपर्ने ब्रोकर कमिसन ०.२५ प्रतिशत मात्रै कायम हुनुपर्छ।’
हाल ब्रोकरहरुले कारोबार रकमको आधारमा ०.४ देखि ०.६ प्रतिशतसम्म लिँदै आएका छन्। त्यस्तै सर्भिस चार्जको रुपमा ०.२५ प्रतिशत र नेपाल धितोपत्र बोर्डलाई ०.०६ प्रतिशत तथा कारोबार ट्रान्सफरको रुपमा प्रति कम्पनी २५ रुपैयाँ शुल्क लिने गरेका छन्।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुुसार लगानीकर्ताहरुले सेयर किन्दा र बेच्दा नै दोहोरो कर लाग्छ भने शुल्क पनि दोहोरो नै लाग्ने गरेको छ। यसका कारण लगानीकर्ता थप मर्कामा परिरहेका छन्।
उनका अनुसार सेयर कारोबारको कमिसन जग्गा किनेको भन्दा पनि महँगो भएको छ। लगानीकर्ताबाट ब्रोकर, नेप्से र सिडिएसले लिएको शुल्क महँगो भएको रौनियारले बताए।
रौनियारले अनलाइन कारोबारका कारण ब्रोकरको राफसाफको काम घटेको, सेयर ट्रान्सफर गर्ने इडिआइएस समेत लगानीकर्ता आफैंले गर्ने भइसकेकोले ब्रोकरको काम घट्दा पनि कमिसन भने उत्ति नै लिनु लगानीकर्ता ठग्नु रहेको बताए।
लगानीकर्ताहरुले कात्तिक मसान्तसम्ममा ब्रोकर कमिसन घट्नुपर्ने अडान राखेका छन्। बोर्डका अध्यक्ष भीष्मराज ढुगांनाले समेत ब्रोकर कमिसन महँगो भयो भनेकाले यसमा पुनरावलोकन हुने तर तत्काल गर्न नसकिने बताए।
सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रियामा सहभागिता जनाउन कोभिड–१९ को उच्च जोखिम रहेकाले पनि ब्रोकर कमिसन घटाउने विषयमा निर्णय पुग्न समेत समय लागेको उनको भनाइ छ।
तर कात्तिक मसान्तसम्म ब्रोकर कमिसन घटेन भने हड्तालमा जाने समेत चेतावनी लगानीकर्ताहरुले दिएका छन्।