काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत सहमति जुटाउने प्रयास बुधबार पनि विफल भएको छ। वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय किशाेर प्रधान र चन्द्र ढकाल आआफ्नो अडानमा रहेकाले सहमति जुटाउन नसकिएको हो।
महासंघकी अध्यक्ष भवानी राणाले मंगलबार पनि दुवै प्रत्यासीसँग छलफल गरेकी थिइन्। तर सहमति जुट्न सकेको थिएन। उनले बुधबार पनि दुवै पक्षसँग छलफल गरेकी छन्।
प्रधानले सहमतिका लागि आफू तयार रहेको बताउँदै आएका छन्। तर वर्तमान उपाध्यक्ष शेखर गोल्छा र पूर्व अध्यक्षहरुले उनलाई पछि नहट्न दबाब दिइरहेका छन्।
प्रधानले भने, ‘मैले ढकालजीलाई उमेर र अनुभव दुवै आधारमा आफू वरिष्ठ भएकाले छाडिदिन आग्रह गरेको छु। तर उहाँले मान्नुभएको छैन।’
ढकाल पनि नछाड्ने अडानमा छन्। आफूले चुनाव जित्ने दाबी उनको छ।
आगामी मंसिर ११, १२ र १३ गते हुने साधारणसभासहितको चुनावमा महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी मैदानमा छन्।