सुनसरी– छोराको हत्या गरेको अरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ११ वर्षपछि बुवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका १ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए।
भोक्राहा नरसिंह गाउँपालिकामा विसं ०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर मियाँ ११ वर्षदेखि फरार रहेका थिए।
छोरा दिलसाह मियाँको हत्या अभियोगमा फरार रहेका ५१ वर्षीय बुनिया भन्ने करिम मियाँलाई प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो।
माइतीघरमा बस्दै आएकी कान्छी श्रीमती अजिरन खातुनलाई लिन विसं ०६६ मङ्सिर २२ गते ससुरालीघर गएका मियाँले श्रीमतीसँग वादविवाद भएपछि छोराछोरीलाई लिएर घर फर्कँदै गर्दा बाटोमा श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएका र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएको आरोप छ।
त्यस क्रममा तीन महिनाको छोरा दिलसाहको मृत्यु भएको भन्दै उजुरी परेको थियो।
मियाँकै कान्छी श्रीमती अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे उजुरी दिए पनि मियाँ फरार थिए। घटनापछि नेपालका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका मियाँलाई प्रहरीले कात्तिक १७ गते इनरुवाबाट पक्राउ गरेको हो।
पक्राउ परेका मियाँका विषयमा थप अनुसन्धान सुरु भएको सुनसरी प्रहरीले जनाएको छ।