विराटनगर– मोरङमा मंगलबार दिउँसो थप दुई संक्रमित महिलाको मृत्यु भएको छ।
विराट शिक्षण अस्पताल बुढीगंगा र नोबेल शिक्षण अस्पताल विराटनगरमा उनीहरुको मृत्यु भएको हो।
नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–१५ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ। ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बिहान अस्पताल लगिएको थियो।
आकस्मिक कक्षमा उपचारकै क्रममा दिउँसो ४ बजेतिर उनको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।
त्यसैगरी मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा सुनसरीको इनरुवा नगरपालिका–१ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ। अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले उपचारका क्रममा दिउँसो २ः३० बजेतिर उनको मृत्यु भएको जानकारी दिए।
पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि कात्तिक १४ गते महिलालाई उपचारका लागि भर्ना गरिएको उनले बताए।
विराटनगरमा पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।