काठमाडौं– एनएमबी बैंकले अब सातै दिन र चौबीसै घण्टा कर्जा सेवा प्रवाह गर्ने भएको छ। बैंकले ‘एनएमबी सापटी‘ नाम दिएको सो सेवा आर्टिफिसियल इन्टेलिजेन्सद्वारा दिन लागेको हो। नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर कर्जा दिने एनएमबी बैंक पहिलो बनेको छ।
एनएमबी बैंकले कर्जाका लागि आवेदन लिनेदेखि प्रवाह गर्दासम्मको सम्पूर्ण प्रक्रिया म्यानुअल हस्तक्षेपबिना नै गर्न सकिने गरी प्रणालीको विकास गरेको छ। यो सेवा मोबाइलबाट प्राप्त गर्न सकिनेछ।
यस्तो सेवा छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जामा लागि दिन लागिएको हो। त्यस्तै बैंकले तलबी खाता भएका विभिन्न कम्पनीका लागि एक लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै उपलब्ध गराउनेछ।
कर्जाका लागि आवेदन दिँदा ग्राहकले कर्जा रकम र कर्जा चुक्ता अवधि छनोट गर्न सकिने बैंकले जनाएको छ।
बैंकका सीईओ सुनिल केसीले यो प्रणालीको विकासले बैंकको प्रगतिलाई रेखांकित गर्ने बताएका छन्।
उनले शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको सुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो बनाउने र कागजविहीन कार्यका लागि वातावरण निर्माण गर्ने बताएका छन्।