काठमाडौ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी–व्यवसायीहरुलाई कालोसूचीमा राख्ने धम्की नदिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएका छन्।
आइतबार उद्योगी–व्यवसायी तथा बैंकरहरुसँग भएको छलफलमा उनले कोरोनाका कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई नकस्न र कालोसूचीमा राख्ने धम्की नदिन निर्देशन दिएका हुन्।
उनले कोभिडका कारण मारमा परेका व्यवसायीलाई राहत प्रदान गर्न र उनीहरुलाई कुनै प्रकारको दबाब दिएर हतोत्साहित नबनाउन बैंकरहरुसँग आग्रह गरे। गभर्नर अधिकारीले भने, ‘कोरोनाभन्दा पहिले नै खराब कर्जा भएकाहरुलाई छुट दिनुुस् भनेको छैन। उनीअरुलाई कस्नुस् तर कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यापारीहरुलाई भने जोगाउने जिम्मा तपाईंहरुको पनि हो, जोगाउनतिर लाग्नुहोस्।’
त्यस्तै उनले मौद्रिक नीति कागजमा नै सीमित गर्नका लागि नल्याएको भन्दै कार्यान्वयन गर्न बैंकरहरुलाई कडा निर्देशनसमेत दिए। उनले भने, ‘मौद्रिक नीतिमा कहीँ समस्या छन् भने बसेर छलफल गरौँ र समस्या समाधान गरौँ। होइन भने अक्षरशः पालना गरौँ ।’
उनले सहुलियपूर्ण कर्जा र पुनर्कर्जाको विषयमा देखिएको दुविधा हटाउने भन्दै सूचनाको ग्यापलाई कम गर्ने पनि स्पष्ट पारे। त्यस्तै उनले पुनर्कर्जाको फर्म भर्नका लागि बैंक तथा वित्तीय संस्थाले नदिएको, सोर्स लगाएर मात्र फर्म भर्न पाइएको जस्ता गुनासो सुन्नमा आएको भन्दै त्यस्ता गुनासो सुनुवाइका लागि युनिट नै तयार पारेकोले केही गुनासा भए सोही युनिटमा उजुरी गर्न आग्रहसमेत गरे।