सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महाकालीमा सुख्खा बन्दरगाह बनाउने मन्त्री भट्टको घोषणा

महाकालीमा सुख्खा बन्दरगाह बनाउने मन्त्री भट्टको घोषणा

सरकारले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा स्थापना गर्ने भनेको सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा गरेको छ।
 |  आइतबार, कात्तिक १६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०७७

काठमाडौं– सरकारले कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा स्थापना गर्ने भनेको सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा गरेको छ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको टोलीले सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रको औपचारिक घोषणा गरेको हो। 

महाकाली नगरपालिका–१ मा रहेको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा रहेको १ हजार बिगाहा क्षेत्रफलमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ। यसअघि दोधारा–चाँदनीकै कन्जभोजमा सुख्खा बन्दरगाह निर्माण गर्ने भनिएको थियो। तर, त्यहाँ निर्माण गर्दा भारतको १२ किलोमिटर क्षेत्र वनमा पर्ने भएपछि भारतीय पक्षले सहमति जनाएको थिएन। 

अहिले तोकिएको ठाउँमा बनाउने विषयमा भारतीय पक्षसमेत सहमत भएको र प्राविधिक पक्षले समेत प्रतिवेदन दिएपछि स्थान छनोट भएको हो। 

सुख्खा बन्दरगाह क्षेत्रको घोषणा गर्दै मन्त्री भट्टले अन्तरदेशीय विशेष आर्थिक क्षेत्रको रुपमा देशभर चार स्थानमा निर्माण गर्ने लक्ष्यका साथ कञ्चनपुरबाट शुरु गरिएको बताए।

‘सुख्खा वन्दरगाह, औद्योगिक करिडोर, एकीकृत जाँच चौकीलगायतका पूर्वाधारहरू निर्माण गर्ने सरकारको लक्ष्य हो,’ उनले भने, ‘सरकारले पूर्वदेखि पश्चिमसम्म औद्योगिक चेनको रुपमा विकास गर्ने गरेर काम अघि बढाएको छ।’ 

देशलाई औद्योगिककरण तर्फ लैजान सकेमात्र देशको समृृद्धि हुने भन्दै उनले औद्योगिक क्षेत्रको विस्तार गरेर बेरोजगारी समस्या समाधान गरिने बताए। ‘जति धेरै औद्योगिक क्षेत्रको स्थापना हुन सक्यो, त्यति धेरै रोजगारी सिर्जना गर्न सक्छौं,’ उनले भने, ‘हामीले चुनावका समयमा गरेको वाचा अनुसार नै काम अघि बढाएका छौं।’ 

कञ्चनपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य डा.दीपक प्रकाश भट्टले सुख्खाबन्दरगाहा निर्माणसँगै यसले पश्चिमबाट नेपालको आर्थिक सम्बृद्धिको ढोका खोल्ने सपना पूरा हुने बताए।

भारतको राजधानी नयाँ दिल्लीबाट नजिक पर्ने सो क्षेत्र व्यापारिक नाकाका रुपमा विस्तार गर्नकै लागि सरकारले महाकाली नदीमा चारलेनको मोटरेबल पुलको समेत निर्माण गरिरहेको छ।

महाकाली नदीमा निर्माण भइरहेको पुल, सुख्खा बन्दरगाह सोझै भारतको राष्ट्रिय राजमार्गसँग जोडेर नाकाका रुपमा विस्तार गर्ने गरेर भारत सरकारसँगको समझदारीमा परियोजना अघि बढाइएको हो।

मन्त्रालयका सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव, विश्व बैंकका प्रतिनिधि र औद्योगिक क्षेत्र लिमिटेड बालाजुका अध्यक्ष लगायत उद्योग मन्त्रालयको टिमसहित आज औपचारिक घोषणा गरिएको हो।

प्रकाशित: Nov 01, 2020| 08:27 आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्