शनिबार, कात्तिक २९, २०८२

एलिना : जति चर्चा, उति सरल

कोरोना कहरले बजार, व्यवसाय, फिल्म उद्योग, पर्यटन स्तब्ध र ठप्प जस्तै भए पनि गीतसंगीतको क्षेत्र भने चलेकै छ। 
 |  शनिबार, कात्तिक १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १५, २०७७

बजारमा कुनै गीत चर्चित भयो भने आवाजमा त्यति हेक्का नराख्ने श्रोता–दर्शकले पनि अनुमान गर्छन्– यो गीत एलिना, समीक्षा वा रचनाकै हुनुपर्छ।

National life

पछिल्लो समय एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमाल गायन क्षेत्रका ‘थ्री–स्टार’ जस्तै बनेका छन्।  

हुन त कला–संगीतमा एउटैको युग लामो समय रहिरहँदैन। कालजयी गीत गाउने, लेख्ने र संगीत सिर्जनाको अहिले जमाना छैन। 

गीतकार राजेन्द्र थापालाई मान्ने हो भने प्रविधि र विकल्पको पर्याप्त अवसर भएको जमानामा कुनै एउटा गीत दुई–चार साता चल्नु नै ठूलो कुरा हो।

‘जमाना पहिलेजस्तो छैन,’ थापा भन्छन्, ‘विश्व हाम्रो हातमा छ, एकैपटक संसारभर रिलिज हुने हजारौं गीत हेर्ने विकल्प श्रोता–दर्शकसँग छ। यस्तोमा एउटै गीत धेरै लामो कसरी चल्छ?’

Laxmi sunrise bank
kumari

पछिल्लो पुस्ताकी गायिका एलिना चौहान चर्चामा आएको लामो समय भएको छैन। चौहान चर्चित गायिका बन्छु भनेरै यो क्षेत्रमा आएकी पनि होइनन्।

‘गाउँदा–गाउँदै यो ठाउँसम्म आइयो,’ उनले भनिन्, ‘अब दर्शक–श्रोताको मायाले अझ राम्रो कसरी गर्ने भन्ने दबाब अनुभूति हुन्छ।’

विनादबाबमै गाउँदा पनि उनको स्वरमा भएको जादुमयी कर्णप्रियताले ‘के माया लाग्छ र...?’, ‘मिनिरल वाटर...’, ‘बरिलै...’, ‘पानी पँधेरो...’, जस्ता गीत करोड क्लबमा परे।

उनले गाएका ‘मेरो परान...’, ‘मेरो बाबा भगवान...’, ‘तिम्रो मायाले बाँधेर राख...’, ‘बेहुलो बनेर...’, ‘तिमीबाहेक मेरो कोइ छैन...’,जस्ता दर्जनौं गीत कम्तीमा ३० देखि ६० लाख दर्शक–श्रोताले हेरेका छन्। 

बजारमा दैनिक दर्जनौं गीत सार्वजनिक हुन्छन्। तीमध्येमा थोरैले मात्र श्रोताको कानमा गुञ्जिने र जिब्रोमा झुन्डिने हुन्छन्।

गीतको सफलताको सुत्र के त?

एलिनालाई लाग्छ– ‘गीत हिट हुनु वा चर्चित हुनुमा शब्द र संगीतको मुख्य भूमिका हुन्छ। आवाज त सहायक कुरामात्रै हो।’ 

सुदूरपूर्व झापामा सामान्य परिवारमा जन्मिएकी, स्नातक अध्ययन गरेर मौका मिले पढाएर पनि आफ्नो समय सदुपयोग गर्ने गरेकी चौहान कैयौं गीत करोड क्लबमा पर्दा पनि ‘आफ्ना कारणले गीत हिट भएको’ भन्न रुचाउँदिनन्।

उनले भनिन्, ‘सायद मैले गाएको गीत अरू कसैले गायको भए पनि त्यत्तिकै हिट हुन्थ्यो होला!’ यद्यपि आफूले गाउँदाताका इमानदार र अग्र्यानिक मिहिनेत भने गर्ने गरेको उनले स्वीकारिन्।

‘त्यो त म गर्छु, मलाई धेरैभन्दा धेरै गीत गाउनु छ,’ गायिका चौहानले भनिन्, ‘अहिले गीत गाउने अफर पनि धेरै आउँछ।’

चौहान पछिल्लो पुस्तामा जति चर्चित छिन्, श्रोतालाई लाग्न सक्छ उनको गायन पारिश्रमिक पनि निकै उच्च होला!  तर उनी त्यति धेरै ‘एम्बिसियस’ छैनन्।

‘गीत राम्रो छ भने म सजिलै र सुहाउँदो मूल्यमै गाउन तयार हुन्छु’,  चौहानले भनिन्।

आफूले राम्रो गर्नसके पछिल्लो समय गायनबाटै राम्रो आम्दानी पनि गर्न सकिने अनुभव उनले संगालेकी छिन्। 

जति चर्चा छ, त्यत्ति नै सम्मान छ त? चौहानले भनिन्, ‘पहिलाजस्तो त अब कहाँ हुनु? हामीले सुनेका गीतका गायक, सर्जक कति उँचो लाग्थे, अहिले जो पनि सहजै कलाकार बन्न सक्छ, अब त्यो सम्मान र श्रद्धा त्यति छैन।’

कोरोना कहरले बजार, व्यवसाय, फिल्म उद्योग, पर्यटन स्तब्ध र ठप्प जस्तै भए पनि गीतसंगीतको क्षेत्र भने चलेकै छ। 

उनी भन्छिन्, ‘यो अवस्थामा मानिसलाई राहत दिने एउटा क्षेत्र भनेको गीतसंगीत हो। म त्यसैमा मेरो क्षमताले भ्याएसम्म इमानदार भएर लागेकी छु।’
 

प्रकाशित: Oct 31, 2020| 01:20 शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्