विराटनगर- विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ। सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा योजनाविना काम गर्न खोज्दा झन्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो।
विराटनगर महानगरपालिकाको कोसी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको झन्डै तीन वर्ष पुगेको छ। ०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमका बीच आकाशे पुलको विधिवत् शिलान्यास गरेका थिए। त्यसयता आकाशे पुलको डिजाइन गरी ठेक्कासमेत लगाइए पनि हालसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन।
पुल बनाउने ठाउँको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण योजना अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरूको भनाइ छ।
महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै ०७६ साल फागुन १६ गते टेन्डर निकालेको थियो। त्यसको झन्डै एक वर्षपछि ०७७ माघ २८ गते मात्र महानगरले ढिला गरी टेन्डर स्वीकृत गरेको थियो। नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदलयात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछी र कंचनबारीचोकमा गरी तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउने योजना अघि बढाइएको थियो। त्यसमध्ये बरगाछीसमेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कञ्चनबाडीचोकमा आरके बिल्डर्सले निर्माणको ठेक्का पाएको छ।
महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ। घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कला बिल्डर्सले आवश्यक सामग्री र प्राविधिक भारतबाट झिकाइसके पनि बनाउने ठाउँको सुनिश्चितता हुन नसक्दा निर्माणले पूर्णता पाउन नसकेको बताइएको छ।
यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिए पनि त्यो ठाउँमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सिर्जना भएको छ। कला बिल्र्डसले सो ठाउँमा भदौ १८ गते यता जग निर्माणको काम सुरु गरे पनि स्थानीयको विरोधका कारण निर्माण कार्य रोकिएको छ। पुल निर्माण गर्न लागिएको छेउका जग्गाधनीहरूसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरूले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्डर्सका प्रोपाइटर सञ्जय यादवले बताए।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली भने महानगरको विकाससँग जोडिएको विषयवस्तुमा सबैले सहयोग गर्नुपर्ने बताउँछन्। देखिएका विवादहरूलाई समाधान गरेर चाँडै निर्माणलाई पूर्णता दिने उनको भनाइ छ।
महानगरपालिकाले आकाशे पुलको अवधारणा ल्याए पनि सरोकारवाला पक्षहरूसँग पर्याप्त छलफल नगरिएको र स्थानीयलाई विश्वासमा लिन नसकिएका कारण निर्माण सम्पन्न हुन सकेको छैन। समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि सरोकारवाला सबै पक्ष र निकायबीच समन्वय हुन जरुरी देखिएको छ।