शुक्रबार, भदौ ५, २०८३

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा शनिवारदेखि गाउँ/नगर अधिवेशन सुरू भएको छ।

संघीय राजधानी काठमाडौंमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण पालिका अधिवेशन असोज १६ गतेका लागि तय गरिएको छ। 

काठमाडौंको वडा अधिवेशन असोज ५ गते सुरू भएको थियो। १ महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौंका सबै नगर र महानगरको वडा अधिवेशनको मत परिणाम प्राप्त नहुँदा शनिवार पालिका अधिवेशन आरम्भ गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए।  

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन शुरू हुन सकेको छैन। प्रदेश नम्बर २ का ८ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रवार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुंग्याएर दशैंअघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले  निर्णय गरेको छ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो। पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो। एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ।

कांग्रेसले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार उक्त तहहरूमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ।

शुक्रवारको पार्टी पदाधिकारी एवं पूर्व पदाधिकारी सहितको छलफलबाट प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार ती तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको छ। 

– भीष्मराज ओझा/रासस

प्रकाशित: Sep 25, 2021| 08:51 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...