सुर्खेत- मध्यपश्चिम विश्वविद्यालय (एमयू) र स्पेनको युनिभर्सिटी अफ बास्क कन्ट्रीबीच शैक्षिक सहकार्यका लागि दुई पक्षीय सम्झौता भएको छ। एमयूका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र बास्क कन्ट्रीका तर्फबाट रेक्टर मारिया ईभा फेरेरिया गार्सियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
दुई विश्वविद्यालयबीच अनुभव तथा वैज्ञानिक ज्ञान र विद्यार्थी तथा प्राध्यापक आदानप्रदान गरी शैक्षिक सम्बन्ध स्थापित गर्ने उद्देश्यले सम्झौता भएको विश्वविद्यालयका सूचना प्रविधि अधिकृत पञ्चदेव भट्टले जानकारी दिए। आगामी शैक्षिक सत्र २०२२/२०२३ देखि प्राध्यापक तथा विद्यार्थीहरु आदान–प्रदान गरिने छ।
सम्झौता कार्यान्वयनका लागि एमयूका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालय र बास्क कन्ट्रीका तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध भाइस–रेक्टरेट सम्पर्क व्यक्तिका रुपमा तोकिएका छन्। २०२१ मे १९ मा सम्झौता भएको हो।