न बासको कुनै ठेगान न गाँसको अत्तो
न जीवनको कुनै रस न आफ्नाको पत्तो।
जाडो होस् वा हावाहुरी या त घामपानी
सडकैमा बेवारिसे भाथ्यो जिन्दगानी।
पिट्ने उल्टै पागल भनेर
बलबहादुर आए भगवान् बनेर।
यी शब्द हुन् गायिका हेमन्ता भट्टराईका। उनले कैलालीको बर्दगोरिया गाउँपालिका–७ सडकपुर बौनियास्थित सहारा घरको सहयोगका लागि यी शब्द सिर्जना गरी स्वर भरेकी छन्। गीतमा बेसाहरा बनेका मानिसको पीडा मात्रै छैन्। सहारा दिने मनकारी व्यक्तिको प्रशंसा पनि गरिएको छ।
सहारा घरका सञ्चालक हुन् बलबहादुर विष्ट। २०७२ सालमा सहारा घरको स्थापना गरेर उनी बेसहाराको सहारा बनिरहेका छन्। घर नहुनेको ओत उनै। भोकै बसेर सडकमा जीवन बिताइरहेकालाई गाँस जुटाउने पनि उनै।
बलबहादुर सडकपुर बौनियामा क्लिनिक चलाएर बसेका थिए। जीवन चल्दै थियो। २०७० सालको कुनै दिन बौनियाको सडकमा एक भारतीय नागरिक छटपटाइरहेका देखे। विष्टको मन पोल्यो। उनले ती बिरामीलाई मेडिकलमा ल्याए। औषधि उपचार गरे। बिरामी त तंग्रिए तर अब कहाँ पठाउने र कसको जिम्मा लगाउने भन्ने चिन्तामा परे बलबहादुर। विष्टले ती व्यक्तिलाई घरमा लगे। अरु उपाय पनि त थिएन। सहाराविहीन ती व्यक्तिको स्याहारसुसार गरे। उनको यस्तो उपकारी भावना गाउँमा फैलिँदै गयो। घरमा एकदुई हुँदै बेसहारा थपिँदै गए। व्यवस्थापनका लागि कठिन हुन थाल्यो। त्यसपछि विष्टले बेसहाराका लागि घर बनाए। सबैलाई त्यहाँ राखेर उनीहरूको अभिभावक बनेर जिम्मेवारी निर्वाह गर्न थाले। उनको पेसा नै बदलियो।
सहारा घरले १ सय ६८ जनालाई परिवारसँग पुनर्मिलन गराइसकेको छ। ‘हामीसँग सडक बालक छन्, बेसहारा सबै खाले नागरिक छन्। अपांग नागरिक छन्’ विष्ट भन्छन्।
सहारा घरले १ सय ६८ जनालाई परिवारसँग पुनर्मिलन गराइसकेको छ। ‘हामीसँग सडक बालक छन्, बेसहारा सबै खाले नागरिक छन्। अपांग नागरिक छन्’ विष्ट भन्छन्।
सहारा घरको आम्दानी केही छैन। विभिन्न दाताहरूको सहयोग सहारा घरमा रहेका नागरिकको बाँच्ने आधार हो। ‘कसैले जन्मदिन मनाउँछन्। कसैले केही सहयोग गर्छन्। त्यसैबाट हामीले उहाँहरूको भोक मेटिरहेका छौं’, बिष्टले भने।
उनको यो अभियानलाई कुनै सरकारी निकायले पनि सहयोग गरेको छैन। विष्ट भन्छन्, ‘हामीले न कुनै सरकारी सहयोग पाएका छौं न कुनै संघस्थाबाट सहयोग। हाम्रा अन्नदाता भनेकै सहयोगी मन हुन्।’
सहयोगका लागि सधैं बाटो कुरिरहने उनले बताए। १०/१५ दिनसम्म कुनै दाता नआउँदा आफूहरू बेलाबेला समस्यामा पर्ने गरेको बताउँछन् उनी। सहरबजारमा दाताको संख्या ठूलो भए पनि गाउँमा त्यस्तो नहुने उनी बताउँछन्। टाढाबाट कहिलेकाहीं कुनै दाता आए पनि टाढा भएकै कारण उनीहरू फेरि आउने सम्भावना कम हुने विष्टको भनाइ छ।
उनी यस्ता संस्था गुठीअन्तर्गत चल्नुपर्ने बताउँछन्। सेवाका नाममा व्यापार हुन नहुने उनको भनाइ छ। सरकारले जिम्मा लिएर गुठीअन्तर्गत चलाए दिगो हुनुका साथै विश्वसनीय हुने विष्ट बताउँछन्।
समाजसेवा गर्न पाएकोमा भने आफू निकै खुसी रहेको उनले बताए। ‘सयौं मानिसको जीवन बचाउन पाइएको छ। मिठो खुवाउन नसके पनि सडकमा माग्दै उहाँहरूले फोहोर खानेकुरा खानु परिरहेको छैन। खुला आकाशमुनि बस्नु परिरहेको छैन। त्यसैमा खुसी छु’, विष्टले भने।
गायिका हेमन्ता शर्मा पनि विष्टको समाजसेवाको मुक्तकण्ठले प्रशंसा गर्छिन्। उनी भन्छिन्, ‘मानसिक अवस्था गुमाएका र बेसहाराको सेवा गर्न पाउनु ठूलो धर्म हो।’
विष्टको योगदानको जति चर्चा रे पनि कमै हुने बताउँछिन् हेमन्ता। हेमन्ता र विष्ट दुई वर्षअघि सामाजिक सञ्जालबाट जोडिएका हुन्। विष्ट आफूले गरेको सत्कर्मलाई सामाजिक सञ्जालमा पोस्ट गरिराख्थे। उनको सत्कर्मले गायिका हेमन्ता शर्मालाई तान्यो।
उनीहरूबीच सामाजिक सञ्जालमा कुराकानी हुन थाल्यो। हेमन्ता चिनजान भएको केही समयपछि धनगढीबाट ६० किलोमिटर दूर तय गर्दै सहारा घर पुगिन्। त्यसपछि त्यहाँको अवस्था र बलबहादुरले गरिरहेको सत्कर्मले उनी थप आकर्षित भइन्।
‘जन्मदिनमा उनीहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। त्यसैले त्यहाँको वास्तविकता चित्रण हुने गरी गीत गाएर बजारमा ल्याएकी हुँ।’
‘जन्मदिनमा उनीहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। त्यसैले त्यहाँको वास्तविकता चित्रण हुने गरी गीत गाएर बजारमा ल्याएकी हुँ’, उनले भनिन्। उनले गत वर्ष उक्त गीत बजारमा ल्याएकी हुन्।
गीत बजारमा ल्याइसकेपछि सहारा घरलाई धेरैले सहयोग गरेको उनले बताइन्। ‘बलबहादुर सरको कर्मलाई उजागर गर्नु आवश्यक थियो। मैले सानो प्रयास गरेकी हुँ’, उनले भनिन्। उनी मानिस जीवित छँदै उसको सत्कर्मको कदर हुनुपर्ने बताउँछिन्।
‘सोचे जस्तै जीवन, देखे जस्तै सपना कहाँ हुँदो रहेछ र? मानिसको जीवनमा कति खेर कुन मोड आउँछ, पत्तै नहुने। सहारा घरमा रहेका कतिपय मानिस त पहिले हामी जस्तै हुनहुँदो रहेछ। पछि उहाँहरूको जीवनमा विपत्ति आइलाग्यो’, हेमन्ता भन्छिन्।
उनी गाउँमा रहेको सहाराका घरमा रहेकाहरूको जीवन रक्षाका लागि सहयोग गर्न आग्रह गर्छिन्।