सुर्खेत- कैलालीको मोहन्याल गाउँपालिका–३ राँगाबाट कर्णाली नदी हुँदै सुर्खेतको चौकुने गाउँपालिका वडा–४ रोपखाली आउँदै गरेको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा कैलाली जिल्ला मोहन्याल गाउँपालिका–३ रांगाकी १७ वर्षीया धनसरा सलामी छन्। उनका ढेड वर्षीया शिशुु गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।
सोही दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका-३ रांगाका १७ बर्षीया पार्वती ढंगा मगर, १८ वर्षीया उर्मिला सलामी मगर र उनका ढेड वर्षका शिशु छन्।
बालबालिकालाई खोप लगाउनका लागि सुर्खेतको चौकुने गाउँपालिका–४ बिचौरा स्वास्थ्य चौकी जान लागेका थिए। घटनास्थलमै रहेका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेका अनुसार बेपत्ताहरूको स्थानीयले खोजी गरिरहेका छन्।
डुंगा चालक दीपेन्द्र आले भने सकुशल छन्। डुङ्गामा पानी परेर हुत्तिएपछि दुर्घटना भएको चालकले बताएका छन्।
डुङ्गामा सवार रहेका विनोद सिजाली, दिपेन्द्र आले, प्रेमिका थापा, हस्तना आले, सुशान्त आले, कर्ण बहादुर सलामी भने पौडिएर बाँच्न सफल भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको स्थानीय शिक्षक पदम भूलले बताए। उनीहरू मोहन्याल गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन्।
मोहन्याल–३, राङ्गामलेखामा स्वास्थ्य संस्था नहुँदा गर्भावस्थाको नियमित खोपका लागि स्थानीय कर्णाली प्रदेशमा जाने गरेको शिक्षक पदम भूलले बताए। उनले भने, आफ्नो पालिकाको स्वास्थ्य संस्थामा जान चार घण्टाको पैदल यात्रा गर्नुपर्ने भएकाले स्थानीयहरू नदी तरेर कर्णाली प्रदेश जाने गरेका छन्।